धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका तर खारेजीमा परेका किशोरी साहलाई कालोसूचीमा हटाउन सर्वोच्च अदालतले बिहीबार निर्देशन दिएको छ । अब शाहको उम्मेदवारी कायम हुने वा नहुने भन्ने शुक्रबारको फैसलाले यकिन गर्ने छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बिहीबारको आदेश आयोगका नाममा नरहेकाले पनि आफूहरूको निर्णयमा यसले प्रभाव नपर्ने बताए। शाहको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको थियो।
बरू, कालोसूचीमा रहेका कारण उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय विरूद्ध साहले दिएको अर्को रिटमा भने सर्वोच्च अदालतले छलफलमा बोलाएको उनको भनाइ छ । ‘आयोगको निर्णयविरूद्ध उहाँले दिएको रिटमा सर्वोच्चले भोलि दुबै पक्षको छलफल बोलाएको छ। त्यही सुनुवाइपछि जे आदेश हुन्छ, त्यही अनुसार हुन्छ,’ उनले भने।
आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो। त्यही पनि चुनावका दिन उनको पक्षमा सबभन्दा धेरै भोट आएको थियो। निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्दा उनको मत गणना गरे पनि सार्वजनिक गरेको छैन। तर उनको उम्मेदवारी खारेज भइसकेको भन्दै आयोगले धनुषा १ मा निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवलाई विजयी घोषणा गरेको छ।




