बालेनले लिए ओलीसँग बदला

बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकामा हुँदादेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टसल अन्ततः चुनावी परिणाममा पुगेर टुंगिएको छ।

काठमाडौं महागनर प्रमुख हुँदा ओलीले प्रधानमन्त्री रहेका बेला पटक पटक असहयोग गरेपछि बदलाभावले झापा क्षेत्र नम्बर ५ मा पुगेका बालेन्द्रले ओलीलाई ४९ हजार ६१४ मतको भारी अन्तरले पराजित गरेका हुन् ।

बालेन्द्रले विजयी हुने क्रममा संसदीय इतिहासकै सर्वाधिक अर्थात् ६८ हजार ३४८ मत पाएका छन्, त्यो पनि ओलीकै गृहजिल्लामा । पराजित भएका ओलीले १८ हजार ७३४ मत मात्रै पाउन सफल भएका छन् ।

यससँगै ७३ वर्षीय ओलीको संसदीय राजनीतिक यात्रामा करिब पूर्णविराम लागेको छ । उता बालेन्द्र भने रास्वपालाई झन्डै दुईतिहाइ संसदीय सिट दिलाउन सफल भएसँगै भावी प्रधानमन्त्रीका रुपमा अग्रस्थानमा देखिएका छन् ।

ओलीले संसदीय चुनावमा पराजय भोगेको यो दोस्रोपटक हो । उनले झापामै ६ पटक जितेका थिए । २०६४ सालको संविधान सभा चुनावमा माओवादी लहर चलेका बेला विश्वदीप लिङ्देनसँग उनी झापा ७ मा हारेका थिए ।

२०७९ सालको चुनावमा झापा ५ बाट ओलीले सर्वाधिक मत पाए । यसपटक त्यो परिणामलाई बालेनले विपरीत बनाइदिए । यस पटक बालेनले २०७९ को भन्दा धेरै मत ल्याएर ओलीलाई हराए ।

झापामा एक लाख ६ हजार ३७२ मत खसेको थियो । बालेनले जित्दै गर्दा रास्वपाले झापाका सबै पाँचै क्षेत्र, मोरङका सबै ६ वटै क्षेत्रमा पनि जित निकालेको छ। देशभर रास्वपाले अहिलेसम्म ६० सिटमा जितेर ६२ सिटमा अग्रता बनाइरहेको छ ।