कास्कीका तीनै क्षेत्रमा रास्वपा उम्मेदवारहरु विजयी भएका छन् । अघिल्लो चुनावमा पाँच दलीय गठबन्धनलाई हराएर तीनै क्षेत्र जितेको एमाले यसपालि जिल्लामा खाली हात भएको छ ।
कास्की क्षेत्र नम्बर १ मा ठूलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खड्कराज पौडेल (गनेस) विजयी भएका हुन् । पौडेलले ३९ हजार आठ सय ८३ मतसहित विजय हाँसिल गरे ।
उनका निकटमन प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार दुई सय १४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीको भागमा १० हजार चार सय २९ मत परेको छ । यहाँ नेपाली कम्युनिस्ट पार्टीका राजकाजी गुरुङले दुई हजार चार सय ७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापाको भागमा नौ सय ७८ मत परेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख १६ हजार आठ सय ७८ मतदाता रहेकोमा ७० हजार एक सय ५० मत खसेको थियो । त्यसमध्ये दुई हजार सात सय ४० मत बदर भएको थियो ।
१७ जनाले उम्मेदवारी दर्ता दिएकोमा १६ राजनीतिक दलका र एक स्वतन्त्र छन् । रास्वपाका पौडेल लेखन हुँदै राजनीतिमा आएका हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा ‘अटेरी अभियान’ चलाउनुभएका उहाँ स्वतन्त्र उम्मेदवारी दिएर पोखरा महानगरको प्रमुखमा प्रतिस्पर्धामा थिए । त्यही बेला काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह(बालेन)सँग सम्बन्ध भएपछि उहाँ शाहसँगै रास्वपा प्रवेश गरी उम्मेदवार बनेका हुन् ।
कास्की क्षेत्र नम्बर २ बाट रास्वपाका उत्तमप्रसाद पौडेल र क्षेत्र नम्बर ३ बाट रास्वपाकै बिना गुरुङ निर्वाचित भइसकेका छन् ।




