चिन्तन गरौं, पार्टी र उम्मेदवार यसरी रोजौं

विश्वले हरेक दशक लोभलाग्दो फड्को मार्दा हामी भने देशको व्यवस्था र अवस्था बदल्ने यात्रामै छौं । सात दशकमा पनि पूरा नभएको हाम्रो परिवर्तनको आकांक्षाकै बिच यही २१ गते आमनिर्वाचन हुँदै छ । कहिल्यै नसोचेको महासंकट झेलेपछि हुन लागेको यो चुनावमा ६८ पार्टीका ३४०६ उम्मेदवार चुनावी मैदानमा छन् । समानुपातिकमा १२७० उम्मेदवार छन् । समानुपातिकमा कुन पार्टी र प्रत्यक्षमा कस्ता उम्मेदवार छान्ने ? त्यसका केही आधार र मापदण्ड सुझाउनु यो लेखको उद्देश्य हो ।

पार्टी के आधारमा रोज्ने ?

१. पार्टीको इतिहास हेर्नुस्: जसको इतिहास गौरवपूर्ण, यथार्थपरक र संघर्षशील होस् ।
२. पार्टीको घोषणापत्र हेनुस्ः घोषणापत्र कोरा सपना र आश्वासन बाड्ने नहोस् । नेपाल र नेपालीले अहिले भोगेका समस्याको यथार्थ मूल्यांकन, विश्लेषणसँगै ती समस्या सुल्झाउने उपायहरु लेखिएको होस्, जसले तपाईलाई विश्वास पनि दिलाओस् ।
३) पार्टी नेतृत्वः पार्टीको नेतृत्व कस्तो छ भन्ने मूल्यांकन गर्नुस् । त्यो पार्टीलाई चलाउने, पार्टी प्रभावशाली भए पदमा जाने, सरकार चलाउने नेतृत्वले नै हो । विगतमा संकटमा कस्तो काम गरेको छ, व्यक्तित्व कस्तो छ, काम गर्ने शैली कस्तो छ ? समन्वय गर्न सक्ने शक्ति छ कि छैन ? राम्ररी मनन गर्नुस् । संकटबाट भाग्ने नेतृत्वले देशको नेतृत्व गर्न सक्दैन ।

४) व्यक्ति केन्द्रीत होइन, लक्ष्य केन्द्रीत दल रोज्नुस्ः राजनीतिक दल लोकतन्त्रका खम्बा हुन् । व्यक्ति केन्द्रीत दल व्यक्तिसँग उदाउँछन्, सँगसँगै अस्ताउँछन् । व्यक्तिका इच्छा पूरा नहुँदा वा बेमेल हुँदा भत्किन्छन् । पार्टी नेतृत्वलाई आपसमा बाध्न सक्ने विचार, सिद्धान्त भएको शक्ति रोज्नोस् ।
५) विवेकपूर्ण निर्णय गर्नाेस्ः पुराना सबै खत्तम, नयाँ सबै ठीक भन्ने भाष्यबाट मुक्त हुनुस् । पुरानामा पनि राम्रा पक्ष छन्, नयाँ पनि दूधले धोएका छैनन् । आफूले खोजेको समाज, विकास प्रक्रिया, सामाजिक सुरक्षा, रोजगारी र भविष्यको योजनालाई सम्बोधन गर्ने वा गर्न सक्ने दल छान्नुस् ।

उम्मेदवार के आधारमा रोज्ने ?

१) उम्मेदवारको दलबारे सोच्नोस्ः संसदीय राजनीतिमा दलको विचार नै धेरै हदमा सांसदहरुले कार्यान्वयन गर्ने हो । कस्तो, कुन दलबाट उम्मेदवार बनेको हो उम्मेदवार भन्ने मूल्यांकन गर्नुस् ।
२) उम्मेदवारको राजनीतिक जीवन हेर्नाेस्ः यसअघि उम्मेदवारको दल यही थियो, कि अरु नै थियो ? अवसरका लागि मात्र दल फेरेको हो कि ? सबै कुर्सीकै लागि मरिहत्ते गर्ने खालको हो कि अवसर नपाएको हो कि ? बुझ्नोस् । स्वार्थ पूरा गर्न राजनीतिमा आएको हो कि देशको सेवा गर्न भन्ने यसले तपाईलाई थाहा दिन्छ ।
३) सामाजिक जीवनबारे जान्नोस्ः मत दिन लागेको उम्मेदवार आर्थिक रुपमा कत्तिको पारदर्शी छ, कत्तिको नागरिकका कुरा सुन्छ, स्थानीयका समस्याबारे जानकार छ भन्ने बुझ्नोस् । पहिल्यै बदनाम भइसकेको पात्र भए अर्काे व्यक्तिबारे सोच्नोस् ।
४) हावादारी होइन, यथार्थ रोज्नोस्ः पूरा गर्नै नसक्ने आश्वासन बाँडेको छ भने त्यो उम्मेदवारले भविष्यमा तपाईलाई निराश बनाउने पक्का छ । गर्न सकिने काम र योजनाअघि सारेको छ कि छैन, समीक्षा गर्नाेस् । ती योजनामा तपाईका समस्या समाधानको खाका भए अझ राम्रो ।
५) स्पष्ट वक्ता र इमान्दार छवि हेर्नाेस्ः सुशासन र समृद्धिको नेतृत्व गर्न स्पष्ट वक्ता र इमान्दार नेताको आवश्यकता छ । विगतमा अहिलेका उम्मेदवारले कुनै न कुनै जिम्मेवारी निर्वाह गरेका हुन सक्छन्, ती जिम्मेवारी कसरी पूरा गरेका थिए ? बुझ्नु भयो भने सही माननीय तपाई भेट्टाइहाल्नुहुन्छ ।
६) लहडमा नलाग्नोस्ः नेपाल विकासको गतिमा धेरै पछि परिसकेको छ । यसलाई प्रयोगशाला बन्न दिनु हुँदैन । हरेक दिनलाई उच्चतम उपयोग गरी समृद्धिमा अघि बढ्नुछ । आवेगमा होइन, गम्भीर चिन्तन, भविष्यको मन्थन र अलोचनात्मक दृष्टिबाट निर्णय लिनोस् । यसो गर्नु भयो भने तपाईलाई भविष्यका जनप्रतिनिधि र नेपालको सरकार देखेर दिक्क लाग्ने, ग्लानि महसुस हुने दिन आउने छैनन्, हाम्रो क्षमतामा गर्व बोध हुनेछ । तपाई आफैं पनि देश निर्माणको एउटा हिस्सा बन्नु हुनेछ ।

र, अन्त्यमा

आफ्नो चिन्तन र विवेकले सबैभन्दा राम्रो ठानेको दल र उम्मेदवारलाई मत दिनुस् । मत दिँदा मत बदर नहुने गरी मत संकेत लगाउनुहोस् । यसपालि तपाईले गोप्य रुपमा हालेको मत पाउने दल र उम्मेदवारले कस्तो काम गर्छन्, भविष्यमा मूल्यांकन गर्नाेस् । समयको आवश्यकता पनि बुझ्नोस्, अर्काे पटक तपाईलाई दल र उम्मेदवार छान्न अझ सजिलो हुनेछ । अरु पार्टी र उम्मेदवारभन्दा तपाई छानेकाहरु अब्बल ठहरिए भन्ने प्रमाणित भयो, तपाई आलोचनात्मक सोंच र चिन्तन अब्बल छ । तपाई पनि यो समाजको एक अगुवा हो, जिम्मेवार नेपाली नागरिक हो ।