बाराही माविका पूर्वविद्यार्थीले आफ्ना गुरुहरुलाई सम्मान गरे

पोखरा मालेपाटनमा रहेको बाराही माविका पूर्वविद्यार्थीले शिक्षकहरुको सम्मान गरेका छन् । २०३६ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीको समूहले आफूलाई अध्यापन गराउने शिक्षकहरुको सम्मानमा सो कार्यक्रम आयोजना गरेको हो ।

विद्यालय परिसरमा आइतबार आयोजित सम्मान कार्यक्रमको उद्घाटन पूर्वविद्यार्थी समूहका अगुवा कपिलनाथ कोइरालाले गरेका थिए । पूर्वविद्यार्थी कोइरालाले वैदिक संस्कृतिको अनुयायी भएको नाताले शिक्षकहरुको सम्मान गर्नु आफ्नो कर्तव्य भएको बताए ।

पूर्वशिक्षक हेरम्बप्रसाद कोइरालाले तत्कालिन समयमा बाराही माविले यस क्षेत्रको शिक्षाको विकासमा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बाराही माविका पूर्वशिक्षकहरु हेरम्वप्रसाद कोइराला, बालकृष्ण अधिकारी, शिवप्रसाद अधिकारी, लक्ष्मीप्रसाद बराल, शोभा प्रधान र टीका हमाललाई सम्मान गरिएको थियो ।

एसएलसी समूह २०३६ का पूर्वविद्यार्थीहरुले टीका, माला र दोसल्ला ओढाएर शिक्षकहरुको सम्मान गरेका थिए । सो अवसरमा शिक्षकहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा पूर्वविद्यार्थीहरु कृष्णकुमारी पहारी, राजेन्द्र लिगल, प्रेम गिरी, बाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रमका संयोजक पूर्वविद्यार्थी पुष्पराज बरालको सभापतित्वमा भएको कार्यक्रमको संचालन पूर्वविद्यार्थी केदारनाथ बरालले गरेका थिए । सो कार्यक्रममा एसएलसी समूह २०३६ का पूर्वविद्यार्थीहरु तथा हालका विद्यार्थीसम्त उपस्थित थिए ।