चिप्लेढुंगामा महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

पोखराको व्यस्त बजार चिप्लेढुङ्गामा पार्किङ शुल्क उठाउने क्रममा दुई महिलामाथि अभद्र व्यवहार र कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक स्थलमा महिलामाथि दुव्र्यवहार गरेको आरोपमा २३ वर्षीय मनिस थापालाई पक्राउ गरेको हो ।

बागलुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा बस्ने थापालाई प्रहरीले आइतबार चिप्लेढुङ्गाबाटै नियन्त्रणमा लिएको हो । उनी सोही क्षेत्रमा अवैध रुपमा पार्किङ शुल्क उठाउने काममा संलग्न थिए ।

गत फागुन १५ गते दिउँसो ३ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित चिप्लेढुङ्गाको पार्किङ स्थलमा थापाले दुई महिलामाथि कुटपिट तथा झैझगडा गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो ।

उक्त घटनाको भिडियो विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले यस विषयमा सूक्ष्म अनुसन्धान र खोजतलास सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी थप कानुनी प्रक्रिया अगाडि बढाइएको बताए ।

उनले भने, ’सामाजिक सञ्जालमा घटना आएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको हो र उनलाई आइतबार चिप्लेढुङ्गाबाटै नियन्त्रणमा लिएका छौँ ।’

पक्राउ परेका थापामाथि अहिले थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

चिप्लेढुंगामा मनिससहितका चार, पाँच जना युवाले केही महिनादेखि सवारी चालकहरुसँग पैसा असुलिरहेका छन् । फरक क्षमताका ती युवाहरुले चालकसँग न्यूनतम १० देखि ५० रुपैयाँसम्म लिएको पाइएको छ । पैसा नदिने, छैन भन्नेहरुलाई दुव्र्यवहार गर्ने, पिट्छु, तलाई मारिदिन्छु भन्न पनि उनीहरु पछि पर्दैनन् ।

चिप्लेढुंगा क्षेत्रमा अवैज्ञ रुपमा पैसा असुल्न केही व्यवसायीको समेत मिलेमतो रहेको देखिएको छ । एक व्यापारीले भने, ‘हाम्रो अगाडिको सडकमा हामीले उठाउन दिएका हौँ, जोसुकै आएर जे गरे पनि फरक पर्दैन ।’ चिप्लेढुंगा पोखराको व्यस्त बजार क्षेत्र हो ।