रास्वपालाई कास्कीमा धक्का, उपसभापति राइले छाडे पार्टी

रास्वपा कास्की उपसभापति नेता राजु राईले पार्टी छाडेका छन् । २०७९ को चुनावमा कास्की १ मा रास्वपा उम्मेदवारसमेत रहेका राईले बिहीबार पार्टी छाडेका हुन् ।

कास्कीमा टिकट वितरणमा असन्तुष्ट रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन । अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’

उनी २०७९ को चुनावमा कास्की १ बाट रास्वपा उम्मेदवार थिए । त्यतिबेला राजुले १० हजार ९ सय ४१ मत पाएका थिए । तत्कालीन समयमा रास्वपाले सोही क्षेत्रबाट समानुपातिकतर्फ १५ हजार ८ सय ६४ मत ल्याएको थियो ।

धेरैले उनैलाई यसपालि पनि उम्मेदवार उम्मेदवार ठानेका थिए । सोहीअनुसार उनले तयारी पनि गरिरहेका थिए ।

‘नेता चिन्नु पर्ने र टिकट किन्नु पर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा रिन लगाउनु हो,’ उनले भनेका छन्, ‘पार्टी हाइज्याक भयो । टिकट बेच्ने हो भने यो पार्टी किन चाहियो रु नेता वरपर घुमेर टिकट अरू पार्टीबाट पनि पाइन्छ नि । सुरुवातमा मात्रै पार्टी हुने रहेछ, त्यसपछि परिपाटीमा चल्ने रहेछ । नेता चिन्नुपर्दैन भनेर लागेको हो । त्यो अवस्था अब बाँकी रहेन ।’

अहिले कास्की क्षेत्र नम्बर १ मा बालेन समूहबाट खड्कराज पौडेल (गनेस)ले टिकट पाएका छन् । कास्कीमा बालेन र रवि लामिछानेले पुराना नेताहरुलाई पाखा लगाएर आफू निकटलाई टिकट दिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिँदो छ ।