प्राडा कुशुमाकर न्यौपानेलाई अली मियाँ पुरस्कार

अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कार २०८२ बाट साहित्यकार एवं समालोचक प्राडा कुशुमाकर न्यौपानेलाई सम्मान गरिने भएको छ ।

लोककवि अली मियाँको १ सय ८ औं जन्मजयन्तीको अवसरमा यही फागुन १५ गते शुक्रबार हुने समारोहमा नगद ५० हजार र सम्मानपत्रसहित न्यौपानेलाई सम्मान गरिने भएको छ ।
पुरस्कृत व्यक्तित्व न्यौपाने करिब चार दशकदेखि नेपाली साहित्य र लोक वाङ्मयको क्षेत्रमा क्रियाशील छन् । साढे ३ दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका न्यौपानेका आधा दर्जनभन्दा बढी अनुसन्धात्मक कृति प्रकाशित छन् । उनले अन्तर्राष्ट्रिय र राष्ट्रिय कार्यशालाहरुमा चार दर्जनभन्दा पनि कार्यपत्र, प्रतिवेदनहरु पेश गरिसकेका छन् ।
साहित्यकार कृष्णप्रसाद पौडेलको संयोजकत्वमा रामबहादुर कोइराला र धर्मराज पौडेल ‘अल्पायु’ सदस्य रहेको प्रतिभा छनोट समितिले न्यौपानेलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । यसअघि यो पुरस्कारबाट धर्मराज थापा, हरिदेवी कोइराला, खिमबहादुर गन्धर्व, प्रेमराजा महत, वमबहादुर कार्की, भेडीखर्के साइँला, चूडामणि बन्धु, मोतिलाल पराजुली, डा बाबुराम अधिकारी, चेतन कार्की, आना मेरी स्टर, नारायण रायमाझी, डा जगमान गुरुङ लगायत सम्मानित भईसकेका छन् ।