साहित्यकार सुरज उपाध्यायलाई पितृशोक परेको छ । उपाध्यायका ७५ वर्षीय पिता शङ्कर उपाध्यायको शुक्रवार बिहान हृदयघातका कारण निधन भएको हो ।
केही समयअगि क्यान्सरका कारण थलिएका उपाध्याय शल्यक्रियापछि स्वास्थ्य लाभ गरी फेदीखोला(२, चनौटे, स्याङ्जामा बस्दै आएका थिए । हाल सामान्य स्वास्थ्य अवस्था भएका उनी शुक्रवार बिहान घरायसी नियमित काम सकेपछि एक्कासि ढल्न पुगेका थिए । उनलाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइए पनि चिकित्सकले हृदयघातका कारण निधन भएको जानकारी दिएका थिए ।
२००८ साल मङ्सिर १६ गते जन्मेका उपाध्याय ४० वर्षसम्म विभिन्न विद्यालयमा अध्यापन गरी निवृत्त भएका शिक्षक हुन् । उपाध्यायका जेठा छोरा सुरज साहित्यिक क्षेत्रमा क्रियाशील छन् ।
विशेष गरी बालसाहित्यमा क्रियाशील सुरजका ‘चिल उड्यो आकाशमा’, ‘साइकल’ र ‘बाबा कतारमा आमा हतारमा’ गरी ३ बालकविता सङ्ग्रह तथा ‘तिम्रो मन फर्किएन’ नामक गजल सङ्ग्रह प्रकाशित छन् ।
उनी प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका सचिवालय सदस्य , प्रगतिशील लेखक सङ्घ कास्कीका सचीव , बालसाहित्य समाज गण्डकी प्रदेश सचिव , अखिल नेपाल लेखक संङ्घका केन्द्रिय महासचिव , सहिद बिजय ढकाल स्मृति प्रतिष्ठानका सचीव तथा गीतकार प्रतिष्ठानका सदस्य हुन् ।
स्व. उपाध्यायका सुरजसहित सन्तोष र रेशम गरी ३ छोरा, छोरी संगीता र श्रीमती रमादेवी छन् ।




