पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड र सडक सीमा मिचेर बनाइएका अवैध संरचनाहरु हटाउन १५ दिने अल्टिमेटम दिएको छ । महानगरले वडा नम्बर १८ को खपौँदी र रातोडाँडा क्षेत्रमा बिना अनुमति निर्माण गरिएका रेस्टुरेन्ट र क्याफेहरुलाई पत्राचार गर्दै संरचना आफैँ हटाउन निर्देशन दिएको हो ।
सर्वाेच्चको आदेश बमोजिम फेवातालको सीमाङ्कन गर्न पोल गाडिसकेको महानगरले अब तालको क्षेत्रमा बनेका संरचना हटाउने जनाएको छ । महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले चाँडै तालाघरका सबै संरचना हटाइने उल्लेख गर्नुभयो । “चाँडै तालघरमा बनेका संरचना आफैं हटाउन सूचना जारी हुन्छ,” उहाँले भन्नुभयो, “आफैं नहटाए महानगरले हटाउँछ र लागेको खर्च पनि उहाँहरुबाटै असुल गरिनेछ ।”
महानगरले बुधबार लेजी बी रेस्टुरेन्ट, क्यालिफोर्निया गार्डेन र कफी सपलाई छुट्टाछुट्टै पत्र काट्दै अवैध संरचना हटाउन भनेको छ । फेवातालको ‘ताल घर’ सीमाङ्कन भइसकेपछि निर्माण भएका संरचनाहरु हटाउने कार्य सुरु भइसकेको महानगरले जनाएको छ । सीमाङ्कन हुनुभन्दा अगाडि बनेका संरचनाको हकमा भने नियमानुसार प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ ।
खपौँदी स्थित लेजी बी रेस्टुरेन्ट र क्यालिफोर्निया गार्डेनले फेवातालको ‘ताल घर’भित्र पर्ने गरी अवैध संरचना निर्माण गरेका छन् । यी संरचना हटाउन यसअघि पटक–पटक मौखिक जानकारी दिँदा र निर्माण सामग्री नियन्त्रणमा लिँदा समेत अटेर गरी काम अघि बढाइएको महानगरको दाबी छ ।
यस्तै, रातोडाँडा स्थित कफी सपले सडक मापदण्डभित्र र सडक दुर्घटना हुने गरी संरचना बनेको छ । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले हस्ताक्षर गरेको पत्रमा १५ दिनभित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार महानगर आफैँले भत्काउने चेतावनी दिइएको छ ।
सोमबार महानगरले वडा नम्बर १८ स्थित सेदी र रातोमाटो डाँडामा अनुमतिविना बनाउँदै गरेका दुई संरचना भत्काएको थियो । रातोडाँडामा बन्दै गरेको किशोर दाहालको भवन र सेदीमा बन्दै गरेको सुशील गुरुङको भवन महानगरले भत्काएको थियो ।




