भौगोलिक रूपमा विकट मानिएको बागलुङ क्षेत्र नं २ मा चुनावी गतिविधि बढेको छ । यसअघि दुई वटा निर्वाचन पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले जितेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ तथा पुराना दलका नेता यतिबेला मतदाता भेटघाटमा व्यस्त छन् ।
विकासका हिसाबले पिछडिएको यस क्षेत्रमा विकाससहित सुशासनका नारा बोकेर उम्मेदवार गाउँबस्ती प्रचारप्रसारमा जुटेका हुन् । यहाँ बलिया र पुरानालाई चुनौती दिँदै नयाँ दल तीव्र चुनावी अभियानमा जुटेका छन् । विसं २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले जितेको थियो ।
विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी (केन्द्र)का देवेन्द्र पौडेल विजयी भएका थिए भने २०७९ मा पनि उनी दोहोरिए । अहिले यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १२ दलका उम्मेदवार चुनावमा होमिएका छन् ।
आ–आफ्नै एजेन्डा र प्रतिबद्धता लिएर घरदैलो गरिरहेका छन् । कांग्रेसका टेकराज पौडेल, एमालेकी मञ्जु शर्मा चालिसे, नेकपाका ज्ञामनाथ गैरे (अनिल) र रास्वपाका सोम शर्माबीच प्रतिस्पर्धा हुने देखिन्छ । पछिल्लो समय रास्वपामा मतदाताको विश्वास बढिरहेकाले आफ्नो जित पक्का भएको शर्माले दाबी दिए ।
नेपाली कांग्रेसमा उम्मेदवार पौडेलले यस क्षेत्रमा कांग्रेसको बलियो सङ्गठन रहेकाले चुनाव जित्ने भन्दै पार्टी नेतृत्व परिवर्तनसँगै मुलुक परिवर्तनको जिम्मा अब पार्टीले लिने उल्लेख गरे । एमालेकी चालिसेले दूरदराजका नागरिकको समस्या समाधान गर्नसक्ने योग्य उम्मेदवार आफू भएको भन्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने दाबी गरिन् ।
नेकपा भने यहाँ जित दोहो¥याउने दाउमा छ । क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चालाई समर्थन गरेको नेकपालाई यहाँ जनमोर्चाले सघाएको छ । उम्मेदवार अनिल अहिलेको संकट टार्न सक्ने शक्ति नेकपामात्र भएकाले आफ्नो पार्टीको जित निश्चित भएको बताउँछन् ।
उनी भन्छन्, ‘हामीले ल्याएको व्यवस्था हो, जेनजी आन्दोलनपछि पनि हाम्रा अध्यक्षसहितको अग्रसरतामा बचेको संविधानको रक्षा हामीबाट मात्र सम्भव छ ।’ माओवादी जनयुद्धदेखि निरन्तर पार्टीमा सक्रिय रहेका उनी गाउँमै बसेर राजनीतिमा सक्रिय छन् । उनले जनताको साथ, पार्टीको उद्देश्य र अहिलेको आवश्यकताले पनि नेकपाको जितलाई कसैले रोक्न नसक्ने दाबी गरे । रासस




