प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न अब २० दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आ–आफ्ना एजेन्डासहित मतदातासामु मत माग्द व्यस्त छन् ।
मनाङमा एमालेले उम्मेदवारी फिर्ता लिएर कांग्रेसलाई समर्थन गरेको छ । राप्रपाको उम्मद्वारी पनि फिर्ता भएको छ भने रास्वपाका उम्मेदवारले मनोनयन दर्ता नै गरेनन् । अब यहाँ निवर्तमान सांसद टेकबहादुर गुरुङसँग नेकपाकी उम्मेदवार यसोदा सुवेदी गुरुङको प्रतिस्पर्धा हुँदै छ ।
यहाँ मङ्गोल नेसनल अर्गनाइजेसनका पनि उम्मेदवार छन् । यी प्रतिस्पर्धी दलले मुख्य एजेन्डा मनाङको पर्यटन क्षेत्र, पूर्वाधार विकास र जलवायु परिवर्तनका असर न्यूनीकरणलाई बनाएका छन् ।
मनाङको मुख्य आयस्रोत पर्यटन क्षेत्र भएकाले पूर्वाधार विकासबिना असम्भव रहेकाले सहज पहुँचको विकासलाई प्राथमिकता दिएको कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङले बताए । भने, “मनाङ सबैभन्दा विकट क्षेत्र हो । यहाँको पूर्वाधार विकासका लागि स्थलमार्गको पहुँच महत्वपूर्ण मानिए पनि हालसम्म सहज बनाउन सकिएको छैन । त्यसैले पूर्वाधार विकासलाई प्राथमिकता दिइएको हो ।”
यहाँको साहसिक, ऐतिहासिक, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोडेर आयस्तर बढाउने लक्ष्य लिइएको गुरुङले सुनाए । देशकै आयस्तर वृद्धि गर्नमा महत्त्वपूर्ण रहेको मनाङमा जलविद्युत् आयोजनाको हब बनाउने योजना रहेको उनको भनाइ छ । हिमाली क्षेत्रमा बढी जलवायु परिवर्तनको असर पर्ने भएकाले समाधान गर्नतर्फ एजेन्डामा समावेश गरिएको उनले बताए ।
नेकपाका उम्मेदवार यशोदा सुवेदी गुरुङले पर्यटन मनाङको मुख्य आयस्तर भएकाले यसको प्रवर्धन गर्ने उल्लेख गरिन् । “प्रकृति, संस्कृति र साहसिक पर्यटनमार्फत मनाङसहित मुलुकलाई विश्वस्तरसम्म परिचित गराउनु छ”, उनी भन्छिन्, “पर्यटन समृद्धिको मेरुदण्ड हो । यसको संरक्षण र वैकल्पिक पदमार्ग निर्माण गर्ने लक्ष्य छ ।”
सडक विस्तारका कारण विश्वको जोखिमयुक्त अन्नपूर्ण पदमार्ग प्रभावित भएकाले वैकल्पिक पदमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको सुवेदी गुरुङले सुनाइन् । “यहाँको तिलिचोताल, आइसलेकलगायत तालतलैयाको प्रवर्द्धन, थोराङ्ला पास, लार्केपास, काङ्ला पासलाई प्रमुख पर्यटनको क्षेत्रका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य छ”, उनले भनिन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा कुल मत छ हजार ७७९ मा चार हजार ८२७ मत खसेको थियो । कांग्रेसका टेकबहादुर २ हजार ५७५ मतसहित विजयी हुँदा एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत पाएका थिए ।
समानुपातिकतर्फ कांग्रेसले दुई हजार ४३०, एमालेले दुई हजार १९१, राष्ट्रिय स्वतन्त्र पार्टीले १४६, नेकपा माओवादीले १३३, जसपाले आठ र जनमोर्चाले दुई मत पाएका थिए । यसपालिको निर्वाचनमा तीन हजार ६२३ महिला र तीन हजार ३७७ पुरुष मतदाताले २९ मतदान केन्द्रमार्फत मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस




