प्रणय दिवसको अवसरमा चार पोखरेली सर्जकको संयुक्त मुक्तक सञ्चयन ‘दामली अक्षर’ सार्वजनिक भएको छ । शब्दालय पोखराले शनिबार आयोजना गरेको कार्यक्रममा ईश्वरमणि अधिकारी, जीवनसागर भण्डारी, दीपक समीप र लक्ष्मण थापाको कृति लोकार्पण गरिएको हो ।
सर्जक लक्ष्मणकी जीवनसाथी मैयाँ, ईश्वरमणिकी जीवनसाथी रीता, समीपकी जीवनसाथी सर्मिला र जीवनसागरकी जीवनसाथी मञ्जुले कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा साहित्यकार सरूभक्तले नेपाली तथा विश्व साहित्यमा संयुक्त कृति प्रकाशनको परम्परा र इतिहासबारे चर्चा गरे । उनले नेपाली साहित्यमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने पोखराका ४ सर्जकका मुक्तकले नेपाली प्रतिनिधि मुक्तकको स्वरुप देखाउने जनाए ।
उनले संयुक्त सङ्ग्रहको प्रकाशनले युवा पुस्तामा नयाँ ऊर्जा थपिने जनाए । सरुभक्तले भने, ‘यस्ता सङ्ग्रहले नेपाली मुक्तकको विकासमा नयाँ प्रेरणा थप्छन्, मुक्तकलाई थप लोकप्रिय बनाउँछन् ।’

साहित्यकार तीर्थ श्रेष्ठले नेपाली मुक्तक लेखन तथा वाचनमा पोखराको अग्रणी स्थान रहेको स्मरण गरे । कवि रमेश श्रेष्ठले अक्षरको शक्ति र सौन्दर्यको महिमाबारे चर्चा गरे ।
मुक्तककार ईश्वरमणिले शब्दसूक्ष्म देखिए पनि मुक्तक आफैँमा प्रकाश, सौन्दर्य र शक्ति भएको तर्क गरे । उनले दामली अक्षर मानवीय संवेदनाहरूको समष्टिगत स्वरुप रहेको सुनाए । अर्का सर्जक लक्ष्मण थापाले संसारका आम मान्छेजस्तै आफू पनि अपूर्ण र यात्रारत रहेको बताउँदै पूर्णता स्वभावैले मोक्ष जस्तै भएको जनाए ।
मुक्तककार दीपक समीपले स्पष्टता, सघन, सूक्ष्म, भावको तीक्ष्णता, अनूभूतिको तीव्रता र आफैँमा सम्पूर्णता मुक्तकका विशेषता भएको जनाए । ‘दामली अक्षरका मुक्तकमा त्यसतर्फ सतर्कता र सजगता अपनाइएको छ,’ उनले भने । अर्का स्रष्टा जीवनसागर भण्डारीले अब दामली अक्षर सबै पाठकको बनेको उल्लेख गरे ।
कार्यक्रममा उपस्थित सबै साहित्यकार/साहित्यानुरागीलाई सभाध्यक्ष बनाएर आयोजित कार्यक्रममा कवि अमृत क्षेत्री, पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष रीता अधिकारी, ‘ऋतु’ लगायतले बोलेका थिए ।
सबै मुक्तककारका चालिस÷चालिस गरी १ सय ६० मुक्तक रहेको कृतिको मूल्य ३ सय ३३ रुपैयाँ छ । मुक्तककार अधिकारीका यसअघि समयको तस्बिर कविता सञ्चयन, हृदयको आलाप गजलसञ्चयन, सम्बोधिका मुक्तक सञ्चयन र सानुसाथी कविता सञ्चयन प्रकाशित छन् ।
मुक्तककार भण्डारीको भने यसअघि असुरक्षित गुलाब (मुक्तक सञ्चयन) प्रकाशित छ । मुक्तककार समीपका यसअघि भूगोलभित्र नकोरिएको देश (गजलसङ्ग्रह), अक्षर अक्षरमा देश (मुक्तक सञ्चयन) र नदीको राजमार्ग (लघुकथा सञ्चयन) बजारमा आएका छन् । अर्का मुक्तककार थापाका यसअघि दुई गजल सञ्चयनसँगै कविता, लघुकथा र मुक्तकका एक÷एक कृति प्रकाशित छन् ।




