तपाईं मत बदल्नुस्, म अवस्था बदल्छुः करण

जनआन्दोलन र जनयुद्धको जगमा लोकतन्त्र स्थापना भएपछि कास्की १ को चुनावी परिदृश्य भिन्न, भिन्न खालको रहँदै आएको छ । कास्की १ मा २०६४ को पहिलो संविधानसभा र २०६५ को उपनिर्वाचनमा तत्कालीन नेकपा (माओवादी)का उम्मेदवार विजयी भएका थिए । दोस्रो संविधानसभामा कांग्रेसले जितेको यो क्षेत्रमा गणतन्त्रपछिका दुई निर्वाचनमा एमालेका उम्मेदवार विजयी बने । जेनजी विद्रोहपछि सिर्जित नयाँ परिस्थितिमा यहाँ पार्टीको तेस्रो जित निकाल्न नेकपा नेता राजकाजी गुरुङ (करण) चुनावी मैदानमा छन् ।

विद्यार्थी जीवनबाटै राजनीतिमा संलग्न नेता करण जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिमा माओवादी आएपछि कास्कीमा सक्रिय छन् । २०३४ सालमा पर्वतको पैयू गाउँपालिकामा जन्मिएका उनको स्थायी बसोबास पोखरा–१३, भद्रकालीमा छ । पहिलो संविधानसभामा कास्की क्षेत्र नम्बर २ बाट चुनिएका करण यसपालिका कास्की क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा छन् । उनी यसपालि नेकपाले २०६४/०६५ कै माहोल कास्की १ मा ब्यूताउने दाबी गर्छन् ।

कारण भन्छन्, ‘हामी पुरानामध्ये नयाँ हौँ, नयाँमध्ये पुराना हौं । हामीले कठिन र लामो त्यागबाट व्यवस्था बदल्यौं, अब अवस्था बदल्ने अभियानको नेतृत्व गर्छाैं ।’ नेकपा केन्द्रीय सदस्य उनी निर्वाचनमार्फत संविधानलाई सही बाटो दिन, जनताको जीवनमा परिवर्तन ल्याउन र कास्की क्षेत्र १ मा प्राकृतिक स्रोत, साधन उचित प्रयोगमा ल्याउने विषय स्थापित गर्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताउँछन् ।

जेनजी विद्रोहपछि सिर्जित नयाँ परिस्थितिमा यहाँ पार्टीको तेस्रो जित निकाल्न नेकपा नेता राजकाजी गुरुङ (करण) चुनावी मैदानमा छन् ।

आफू नेकपाको मात्र उम्मेदवार नभएर कास्की १ का सबै जनसमुदायको साझा प्रतिनिधि भएको गुरुङको दाबी छ । ‘निर्वाचनमार्फत संविधानलाई सही ट्रयाकमा ल्याउनका लागि र जनताको जीवनमा परिवर्तन ल्याउनुपर्ने छ,’ उनले भने, ‘कास्की क्षेत्र नम्बर १ प्राकृतिक स्रोत र साधनमा असाध्यै सम्भावना छ तर, यहाँको जनता ठीक ढंगले सदुपयोग गर्नबाट बञ्चित छन् । गुरुङ ऐतिहासिक थलो क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा राख्न सकेका छैनौं । यी सबै कुरालाई स्थापित गर्न उम्मेद्वारी प्रस्तुत गरेको हुँ ।’

कास्की निर्वाचन क्षेत्र नम्बर १ मा गएका निर्वाचनहरुमा नेपाली कांग्रेस र एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । साविक माओवादी र एकीकृत समाजवादीसहित पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल राप्रपा, लगायत पार्टीका उम्मेदवार पनि यहाँ प्रतिस्पर्धामा छन् ।

प्रतिनिधि सभाका लागि कास्की १ मा १७ जना उम्मेदवार छन् । यहाँ एक जनाबाहेक सबै पहिलोचोटि संसदीय उम्मेदवार बनेका हुन् । कास्की क्षेत्र नम्बर १ मा बहुदल आएपछिको सुरुवाती चरणमा मुख्य प्रतिस्पर्धा तारानाथ रानाभाट र खगराज अधिकारीबीच भएको देखिन्छ । २०४८ सालको निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाटले एमालेका खगराज अधिकारीलाई पराजित गरेका थिए भने २०५१ सालको निर्वाचनमा खगराज अधिकारीले तारानाथलाई हराउँदै नतिजा उल्ट्याए ।

पुनः २०५६ सालमा भएको आम निर्वाचनमा तारानाथ रानाभाटले खगराज माथि जित हासिल गरे । पहिलो संविधानसभा निर्वाचन (२०६४) मा भने माओवादीका देव गुरुङ विजयी भए र यज्ञबहादुर थापा तथा खगराज अधिकारी पराजित बनेका थिए । देव गुरुङले क्षेत्र छाडेपछि २०६५ सालमा भएको उपनिर्वाचनमा कृष्णबहादुर गुरुङले शालिकराम पौडेल र दीपक गुरुङलाई पछि पार्दै जित निकाले ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा यज्ञबहादुर थापाले मानबहादुर जिसी र विष्णु पौडेललाई हराउँदै विजय प्राप्त गरे । नयाँ संविधान बनेपछि २०७४ सालमा भएको निर्वाचनमा खगराज अधिकारी निर्वाचित भए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मनबहादुर गुरुङले किशोरदत्त बराललाई पराजित गर्दै जित हासिल गरेका थिए ।

कास्की १ मा मादी र रुपा गाउँपालिकासहित पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ गरी ११ वटा वडा पर्दछन् । यहाँ समानुपातिकमा एमालेले २१४४३, कांग्रेसले १६२६८ र रास्वपाले १५८६४ मत पाएका थिए । नेकपाले ५१०८ मत पाएको थियो ।

कास्की क्षेत्र नम्बर १ प्राकृतिक स्रोत र साधनमा असाध्यै सम्भावना छ तर, यहाँको जनता ठीक ढंगले सदुपयोग गर्नबाट बञ्चित छन् ।

नेकपा केन्द्रीय सदस्य करण किशोरावस्थाबाटै राजनीतिमा होमिएका अनुभवी राजनीतिज्ञ हुन् । साविक नेकपा (माओवादी)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका उनलाई कास्की १ मा प्रमुख दलबाट जनजाति उम्मेदवार नहुनुको लाभ मिल्न सक्ने देखिन्छ । अर्कातिर, नेकपा नेता वर्षमान पुन अर्थमन्त्री हुँदा मन्त्रीको आर्थिक सल्लाहकार बनेका करणले कास्की १ का दर्जनौं योजनामा करोडौं बजेट विनियोजन गर्न पहल गरेका थिए ।

कुनै बेला पार्टीमा पृथक गुटमा रहेका नेताहरु पनि अहिले करणसँगै चुनावी अभियानमा छन् । घरदैलोमा भेटिएका मतदाताको प्रतिक्रियाले उनी उत्साहित छन् । पुराना दलले दुई तिहाई हुँदा पनि विवेकपूर्ण सत्ता चलाउन नसकेको र नयाँहरुको उदय नै विवादास्पद रहेको भन्दै उनी देशको नेतृत्व नेकपाले मात्र गर्न सक्ने बताउँछन् । करण भन्छन्ः पुरानाले दुई तिहाई हुँदा पनि देशलाई भड्खालामा हाले, नयाँहरुको उदय नै विवादस्पद देखियो, विचार लक्ष्य पनि प्रष्ट छैन । देशका समस्याको समाधान र समृद्धिको खाका हामीसँग छ । नेकपाले मात्र देशको समृद्धि गर्न सक्छ ।