अहिले पोखरा महानगरका मुख्य बजार क्षेत्रका वडाहरु पर्ने कास्की क्षेत्र नम्बर २ को भूगोल बेला बेलामा फेरबदल भइरह्यो । जिल्लालाई कहिले तीन क्षेत्र त कहिले चार क्षेत्रमा विभाजन गरियो । सङ्घीयतापछि तीन क्षेत्र बनेको कास्की क्षेत्र नम्बर २ मा तीन चुनाव भइसकेका छन् । ती सबै निर्वाचनमा यहाँ एमाले उम्मेदवारले जित हाँसिल गरेका थिए ।
त्यसअघि यो क्षेत्रका अधिकांश भूभाग क्षेत्र नम्बर ३ मा थिए । सो अवधिमा पनि एमालेले नै यहाँ जित हाँसिल गरेको थियो । २०७९ को निर्वाचनमा यो क्षेत्रबाट एमालेकी विद्या भट्टराई अधिकारी विजयी बनेकी थिइन् । २०७६ को उपचुनाव र २०७९ को निर्वाचन जितेकी अधिकारी अहिले मैदानमा छैनन् ।
२०७९ मा यो क्षेत्रमा प्रत्यक्षमा निकटतम प्रतिस्पर्धी बनेका रास्वपा उम्मेदवार माधव कँडेलको पार्टीले समानुपातिकमा सर्वाधिक मत भएको थियो । फेरिएको परिस्थितिमा कास्की २ मा अहिले बहुपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । पोखरा महानगर प्रमुख भने यहाँ नेकपाले जितेको छ ।
एमालेले पोखरा महानगरका पूर्व प्रमुखसमेत रहेका कृष्ण थापालाई दिएको टिकट परिवर्तन गरी युवा रश्मि आचार्यलाई यहाँ उठाएको छ । पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापतिसमेत रहेका आचार्य पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् ।
नेकपा (एमाले)को बलियो सङ्गठन रहेको यो क्षेत्रमा स्थानीय तह निर्वाचनमा अधिकांश वडामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ । पार्टी उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र सचिव खगराज अधिकारीका फरक फरक गुट क्रियाशील रहेको कास्कीमा यसपालि तीनै क्षेत्रमा अधिकारी पक्षकाले टिकट पाएका छन् । गुरुङ पक्षले असहयोग गर्ने डर पनि एमालेभित्र छ ।
कास्की २ मा नेपाली कांग्रेसले माधवप्रसाद बास्तोलालाई उम्मेदवार बनाएको छ । पहिलो पटक संसदीय निर्वाचनमा होमिएका बास्तोलालाई एमाले उम्मेदवार आचार्यसँगै नेकपाका किरण थापा (आमोद)सहित रास्वपाका उत्तमप्रसाद पौडेलले टक्कर दिने अनुमान छ । यस निर्वाचनमा यस क्षेत्रमा १२ राजनीतिक दलका र पाँच स्वतन्त्र उम्मेदवार मैदानमा छन् ।
पछिल्लो निर्वाचनमा समानुपातिकमा सर्वाधिक मत पाएको रास्वपालाई प्रत्यक्षमा ती मत परिणत गर्नुपर्ने वाध्यता छ । पौडेललाई टिकट दिइएपछि ११ वडामध्ये १० वडाका रास्वपाका सभापतिहरुले सामूहिक हस्ताक्षर गरी उम्मेदवार परिवर्तन गर्न मागेका थिए । पौडेललाई आफ्नै पार्टीभित्र सन्तुलन राख्नुपर्ने चुनौती पनि छ ।
रास्वपाले सहज क्षेत्र मानेको कास्की २ मा स्थानीय आवश्यकतभन्दा सभापति रवि लामिछाने निकटलाई टिकट दिइएको भन्दै पार्टीभित्र असन्तुष्टि पनि छ । पौडेल पूर्वपत्रकारसमेत हुन् ।
कास्की २ मा नेकपाका उम्मेदवार थापा माओवादी विद्रोहमा संलग्न थियो । स्थानीय स्तरमा विकास, निर्माणमा समेत संलग्न उनलाई तुलनात्मक रुपमा कमजोर सङ्गठनको बलमा जित निकाल्नुपर्ने वाध्यता छ ।
माओवादी सशस्त्र संघर्षका बेला जनमुक्ति सेनाको बटालियन कमाण्डर किरण शान्ति प्रक्रिया सुरु भएपछि बन्दुक थन्क्याएर उनी राजनीतिक मैदानमा खुलेर उत्रिए । २०६४ पछिसम्म कास्की जिल्ला विकास समितिको सर्वदलीय संयन्त्रमा माओवादीका तर्फबाट प्रतिनिधित्व उनैले गरेका थिए । साहित्य र कलामा रुचि राख्ने उनी कथा पनि लेख्छन्, कविता पनि कोर्छन् । कुनै समय उनले आदर्श नेपाल दैनिक प्रकाशन पनि गरेका थिए । कानुनमा स्नातक उनी समाजशास्त्रमा स्नातकोत्तर गरिरहेका छन् ।
पोखरा महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नं वडा रहेको यो क्षेत्रमा ८४ हजार एक सय ३४ मतदाता छन् । यो क्षेत्रमा ९७ मतदान केन्द्र छन् ।




