पुरानाको भरोसा, नयाँको आशा लिएर आएको छु

सांसद कस्तो हुनुपर्छ भन्ने प्रश्नको सोझो र एउटै उत्तर छैन । जेनजी विद्रोहपछिको नयाँ परिस्थितिमा युवादेखि ज्येष्ठ नागरिकसम्मले देश, राजनीति र परिस्थितिलाई हेर्ने नजरिया फेरिएको छ ।

अचेल मानिसहरु यो प्रश्नको यस्ता पक्ष उल्लेख गर्छन् ः शैक्षिक ज्ञान भएको, भूगोल बुझेको, माटो चिनेको, स्थानीय स्तरमा परिचित, राष्ट्रिय छवि भएको, जनताका समस्यामा सँगै हुने आदि ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ओखलढुंगाबाट यी सबै विशेषता भएका नेता कुमार लुइँटेललाई मैदानमा उतारेको छ । नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्यसमेत रहेका लुइँटेल साढे ३ दशकको राजनीतिक यात्रापछि पहिलो पटक संसदीय चुनावमा होमिएका छन् ।

यसअघि भएका पालिका, प्रदेश र संसदीय चुनावमा सहकर्मीहरुलाई जिताउने खटिने उनी यसपालि आफ्नै लागि मत माग्न व्यस्त छन् । विज्ञानमा स्नातकोत्तर गरेका उनी शिक्षण हुँदै राजनीतिमा सक्रिय भएका हुन् । सुनकोशी गाउँपालिका वडा नम्बर १ मा जन्मिएका उनी लामो समयदेखि ओखलढुंगाबासीका दुःखसुखमा सँगसँगै छन् ।

उनी पुरानाको भरोसा र नयाँको आशाको नै आफ्नो जितको आधार भएको बताउँछन् । लुइँटेलले भने, “मसँग पुरानो पुस्ताको भरोसा छ, सँगसँगै केही त पक्कै गर्छ भन्ने नयाँ पुस्ताको आशा पनि छ ।” ओखलढुंगामा भौतिक पूर्वाधार निर्माण गर्दै समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा उनको जोड छ ।

मध्यपहाड राजमार्ग नजिकै भएका गाउँहरुलाई राजमार्गसँगै जोड्दै, नदी खोलमा पुल निर्माण गर्दै आर्थिक समृद्धिका आधार खोज्नुपर्ने उनको मत छ । जिल्लाबासीलाई आत्मनिर्भर बनाउन विभिन्न जातजातिका संस्कृति, सभ्यतालाई पर्यटनमा जोड्ने र पर्यटकीय स्थलहरुको प्रचारप्रसारसँगै पूर्वाधार निर्माण लाग्ने उनी वाचा गर्छन् ।

ओखलढुंगा नेपाली कांग्रेसको पुरानो आधार इलाका हो । दोस्रो जनआन्दोलनअघिसम्म सधैं कांग्रेसले जित्दै आएको जिल्लामा उनी विरासत कायम राख्ने चुनौतीमा छन् । दोस्रो जनआन्दोलनपछि पहिलो संविधानसभामा तत्कालीन नेकपा (माओवादी) र २०७४ मा वाम गठबन्धन हुँदाबाहेक यहाँ सधैं नेपाली कांग्रेसकै जित हुँदै आएको छ ।

नेपाली कांग्रेसको बलियो संगठन रहेको जिल्ला ओखलढुंगामा विगतमा जस्तो बागीको सामना उनले गर्नुपरेको छैन । कांग्रेसकै कारण कांग्रेस उम्मेदवार पराजित हुनुपर्ने अवस्था छैन । उनी भन्छन, “यसपालि नेपाली कांग्रेस पार्टी एकाकार छ । बदलिएको परिवेशमा हामी बदलिएर आएका छौँ । पुरानो पार्टीको पुरानो मान्छे भए पनि म कांग्रेसभित्रको नयाँ अनुहार हुँ । अबको युगलाई अघि बढाउने योजना र खाकासहित आएको छु ।”

निवर्तमान सांसदसमेत रहेका उम्मेदवारका आकांक्षी रामहरि खतिवडासहितका नेताहरुलाई साथसाथै लैजानुपर्ने आवश्यकता छ । कांग्रेस सभापछि गगन थापा निकट लुइँटेलको जन्मस्थान जिल्लाको पश्चिम क्षेत्र हो । पूर्वी क्षेत्रका बासिन्दा, खासगरी राई, तामाङ, मगर, सुनुवार लगायतका जनजातिको साथ, विश्वास लिन उनले केही ध्यान दिनैपर्छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावमा ओखलढुङ्गामा प्रमुख राजनीतिक दलबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । जिल्लामा लुइँटेलसँग नेकपा (एमाले)बाट अस्मिता थापा, नेकपाबाट अम्बिरबाबु गुरुङ र रास्वपाका उम्मेदवार विश्वराज पोखरेलबीच बहुपक्षीय प्रतिस्पर्धा हुने अनुमान छ ।

आठ स्थानीय तह र एक निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा प्रतिनिधिसभा सदस्यका लागि १५ जना मैदानमा छन् । नेकपा उम्मेदवार गुरुङ कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन् । मनोनयन दर्ताकै दिन एमाले परित्याग गरी नेकपा उम्मेदवार बनेका उनले नेकपाको मतसहित एमालेको ठूलो मत काटे लुइँटेलको जितका लागि अड्चन सिर्जना गर्न सक्छन् । जनजाति भएको फाइदा पनि गुरुङलाई छ ।

एमाले उम्मेदवार अस्मिता थापा लिखु गाउँपालिका उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा आएकी हुन् । जेनजी उमेर समूहबाट उम्मेदवारी दिएको भनी प्रचार गर्न खोजिए पनि संघीय सांसदमा अग्रजहरुलाई पाखा लगाएर कनिष्ठलाई टिकट दिएपछि एमाले वृत्तमा ठूलो असन्तुष्टि छ । यही असन्तुष्टिका कारण एमाले जिल्ला अध्यक्ष जिबी खड्कासहित करिब पूरै जिल्ला समिति नेकपा प्रवेश गरेको छ । लुइँटेलकै छिमेकी वडाका खड्काको नेकपा प्रवेशले गृह क्षेत्रमै मत काटिन सक्ने सम्भावना पनि छ ।

पुराना दलहरुसँग यसपालि उनलाई रास्वपाका उम्मेदवार विश्वराज पोखरेलले पनि टक्कर दिएका छन् । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक पोखरेलले युवा पुस्ता र असन्तुष्टहरुको मत काटेर निर्वाचन परिणाममा फरक पार्न सक्ने सम्भावना पनि छ ।

कांग्रेस उम्मेदवार लुइँटेल चुनौतीहरुको मिहिन ढंगले विश्लेषण गरिएको जनाउँदै जित करिब निश्चित भएको दाबी गर्छन् । “जित्ने कांग्रेसले नै हो,” उनी भन्छन्, “अरुको प्रतिस्पर्धा दोस्रो बन्न हो ।” पार्टी बदलिएको र देश बदल्ने दृष्टिकोण, नेतृत्व र एजेन्डा कांग्रेससँग भएकाले अरु पार्टी, स्वतन्त्र खालका नागरिक र युवाको मत पनि आफूले पाउने उनको विश्वास छन् ।

आफ्ना सहकर्मीसहित मत माग्न व्यस्त उनी भन्छन्ः अरु सबै तपशील हुन् । मुख्य कुरा जनताको विश्वास हो । फागुन २१ गतेको मतदानपछि कांग्रेसले शानदार जित हाँसिल गर्छ । म जित्छु, देशले कोल्टे फेर्छ ।