नेकपालाई मतदाताको आग्रहः एजेन्डा नभुल्नुस्, मत दिन भुल्दैनौँ

कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार हेमबहादुर थापा(आमोद)ले भूमीहीन तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उनले सहर सबै वर्गको साझा भएको जनाए ।

आमोदले भने, ‘गरिब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध सहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’ उम्मेदवार थापाले संकटका बेला ठूला वर्ग भाग्ने र त्यसको सामना गरिब तथा मध्यम वर्गले भोग्नुपर्ने अवस्था रहेको औंल्याए ।

‘यो सहर ठूला वडाको मात्र हो भन्ने प्रश्न उठ्न थालेको छ,’ उनले भने, ‘संकट पर्दा हेलिकोप्टर चढेर भाग्ने होइन, समाधानको उपाय खोज्ने हो । त्यस्तो अवस्थामा पन ियहाँ बस्ने श्रमजीवी जनताले नै सहर जोगाउँदै आएका छन् ।’ मकै पोल्ने, स्वरोजगारमा संलग्न मजदुरदेखि फुटपाथ व्यवसायी समेतलाई राज्यले यातना दिइरहेको भन्दै उनले सबैले श्रम गरेर बाँच्न पाउने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए ।

अव्यवस्थित बसोबासीको नाममा जथाभावी डोजर चलाइएकोप्रति आपत्ति जनाउँदै उनले वर्गीय मुद्दाबाट कम्युनिस्ट पार्टी कहिल्यै विचलित नहुने प्रतिबद्दता व्यक्त गरे । ‘यो सहर ठूला व्यापारी र घरानीयाको मात्र होइन, फुटपाथे व्यापारीको पनि हो । झुपडीमा बस्नेहरूको पनि यही सहर हो, उनले थपे, ‘भूमि आयोगले दिएको निस्साको आधारमा सुकुम्बासीलाई जमिनको मालिक बनाइनेछ । कोही पनि नागरिक भूमि र आवासको अधिकारबाट बञ्चित हुनु हुँदैन ।’

जनयुद्धका क्रममा लागेको गोलीका छर्रा छातीमा बोकेर हिँडेको उल्लेख गर्दै थापाले आफ्नो जीवन जनतालाई समर्पित भएको बताए । भने, ‘यो नाफाका लागि होइन, संघर्षका लागि समर्पित जीवन हो ।’ कार्यक्रममा नेकपा गण्डकी प्रदेशका इन्चार्ज श्रीनाथ बरालले देशलाई समाजवादतर्फ लैजाने क्षमता नेकपासँग मात्र रहेको बताए । उनले कृषि क्रान्तिको आवश्यकता औँल्याउँदै मुलुकलाई कृषिजन्य उत्पादन निर्यात गर्ने अवस्थामा पु¥याएर जनताको जीवन बदल्न सकिने बताए ।

नेकपा कास्की इन्चार्ज नेत्रनाथ अधिकारीले सुकुम्बासीले हाल प्राप्त गरेको निस्साका आधारमा लालपुर्जा वितरण गर्ने जिम्मेवारी नेकपाले लिने बताए । त्यसका लागि आगामी निर्वाचनमा नेकपाको जित सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको दीर्घकालीन समाधान, वर्गीय समानता र सामाजिक न्यायको पक्षमा नेकपाको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका थिए ।

अन्नपूर्णमा घरदैलो
नेकपा कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा वामपन्थी आन्दोलनका अनुभवी नेता गोपाल गिरी यति बेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । ‘जेन्जी’ युवाहरूको भावना अनुसार काम गर्ने, जातीय विभेद अन्त्य गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने लगायतका प्रतिबद्धता लियर उनी जनताको घर दैलोमा व्यस्त भएका हुन् ।

उनले मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा चुनावी प्रचारप्रसार तथा जनतासँग भेटघाट कार्यक्रम रहेको सचिवालयले जनाएको छ । कास्कीको पर्यटकीय क्षेत्र सहित विश्वकै चर्चित पदमार्गहरु रहेको अन्नपूर्ण क्षेत्रका जनताको मर्म र भावना बुझ्दै जीवनस्तर र आर्थिक विकास र समृद्धिका लागि पर्यटनलाई विकासको मुल आधार बनाउनुपर्ने गिरी बताउँछन् ।

सहिद, बेपत्ता नभुल्न आग्रह

कास्की १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरी भेटघाट सुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार राजकाजी गुरुङ (करण)सहितको टोलीले रुपा ३ टाकेञ्जास्थित सहिदहरु कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र विजय बाँस्तोलाको शालिकमा माल्यार्पण गरी चुनावी अभियान थालेको हो ।

भेटघाटमा स्थानीयले नेकपालाई पुराना वाचा सम्झाउँदै एजेन्डालाई दीर्घकालीन रुपमा लिन आग्रह गरे । सहिद परिवारका सदस्यहरुले सहिदको सपना र बेपत्ताको योगदानलाई मार्गदर्शन मान्न आग्रह गरे ।

सो अवसरमा उम्मेदवार करणले पार्टी र आफू जनयुद्धको एजेन्डामा कायम रहेको बताए । उनले भने, ‘सहिदको सपना, बेपत्ता तथा घाइतेको योगदान कहिल्यै बिर्सिएको छैन र बिर्सने पनि छैन । त्यो सपना पूरा गर्ने भनेको समाजवादले मात्र हो, हामी त्यसकै लागि लडिरहेका छौं ।’