नवौं पटक सांसद बन्ने दौडमा पृथ्वीसुब्बा

नेपालको संसदीय राजनीतिमा लामो समयदेखि निरन्तर निर्वाचनमा भाग लिँदै आएका नेतामध्ये पृथ्वीसुब्बा गुरुङ अग्रपंक्तिमा पर्छन्। उनले २०४३ सालदेखि हालसम्म भएका सबै संसदीय निर्वाचनमा उम्मेदवारी दर्ता गराउँदै आएका छन्। राजनीतिक यात्राको सुरुआत उनले २०४३ सालमा लमजुङ क्षेत्र–२ बाट जनपक्षीय उम्मेदवारका रूपमा गरेका थिए।

२०४८ सालको निर्वाचनमा उनी नेकपा ९माले० को तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार बने पनि पराजित भए। त्यसपछि २०५१ र २०५६ सालका निर्वाचनमा पनि गुरुङ लमजुङ क्षेत्र–२ बाटै प्रतिस्पर्धामा उत्रिए, तर दुवैपटक विजय हासिल गर्न सकेनन्।

२०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भने उनले पहिलो पटक निर्वाचन जित्दै संसदीय राजनीतिमा सफलता हात पारे। तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी पुनः सोही क्षेत्रबाट पराजित भए।

त्यसपछि २०७४ सालको निर्वाचनमा गुरुङ लमजुङ प्रदेशसभा ९ख० बाट निर्वाचित हुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बने। मुख्यमन्त्रीको कार्यकालपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

अब आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि गुरुङ पुनः प्रतिस्पर्धामा उत्रिने निश्चित भएको छ। शनिबार राति नेकपा ९एमाले० का उपाध्यक्षसमेत रहेका उनलाई पार्टीले लमजुङबाट उम्मेदवारीको टिकट प्रदान गरेको हो। लमजुङ एमालेले गुरुङसहित छ जनाको नाम सिफारिस गरे पनि अन्ततः पार्टी नेतृत्वले गुरुङकै नाममा टिकट टुंगो लगाएको छ।

टिकटका लागि जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम सिफारिस गरिएको थियो।