कास्की १ मा राजकाजी, २ मा किरण र ३ मा प्रेमलाई टिकट

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्कीमा तीन वटै क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट राजकाजी गुरुङ (करन), क्षेत्र नम्बर २ बाट हेमबहादुर थापा पराजुली (किरण थापा) र क्षेत्र नम्बर ३ बाट प्रेम पौडेलले टिकट पाएका छन्।

गुरुङ पहिलो संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यसयता दोस्रो संविधानसभामा पर्वत र पहिलो प्रदेशसभा निर्वाचनमा कास्की २ (२)बाट उम्मेदवार भए पनि उनले जित निकाल्न सकेका थिएनन् ।

कास्की क्षेत्र नम्बर २ मा टिकट पाएका पराजुली डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति हुँदै नेकपा आएका हुन् । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सहभागी गुरुङ र पराजुली दुवै साविक माओवादीका नेता हुन् ।

कास्की क्षेत्र नम्बर ३ मा साविक नेकपा एकीकृत समाजवादीका नेता प्रेम पौडेलले टिकट पाएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ का बासिन्दा पौडेल पनि संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका हुन् ।

कास्कीमा नेकपा (एमाले)ले क्षेत्र नम्बर १ बाट बैनबहादुर अधिकारी क्षेत्री, २ बाट कृष्ण थापा र ३ बाट दामोदर पौडेल (बैरागी)लाई टिकट दिएको छ । जिल्लामा रास्वपा र कांग्रेसका उम्मेदवारको भने टुंगो लाग्न बाँकी छ ।