नेकपा (एमाले) ले ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
अनेरास्ववियुबाट राजनीति थालेकी थापा ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन्।
शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकले थापालाई टिकट दिने निर्णय गरेको हो। उनी यसअघि एमाले महाधिवेशन प्रतिनिधि समेत दोस्रोपटक चयन भएकी थिइन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडासँग पराजित भएका यज्ञराज सुनुवार यसपटक पनि टिकटका बलिया दाबेदार मानिएका थिए। सुनुवार एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहमा खुलेर लागे पनि यसपटक टिकट पाउन सकेनन्।
टिकटका लागि सुनुवारले अध्यक्ष ओलीसँग व्यापक लबिङ गरे पनि अन्ततः सुनुवाइ हुन सकेन। पार्टी नेतृत्वले पालिका उपाध्यक्ष थापालाई टिकट दिने निर्णय गरेको हो।
टिकट पाएसँगै थापाले पालिका उपाध्यक्ष पदबाट राजीनामा दिई माघ ६ गते उम्मेदवारी दर्ता गर्ने तयारी गरेकी छन्।




