बागलुङ २ का स्थानीय भन्छन्ः झलनाथलाई स्वीकार्दैनौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता झलनाथ खनाल बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने चर्चा चलेपछि बागलुङ तरङ्गित भएको छ । नेकपाको राम्रो पकड भएको यो क्षेत्रमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल जित सुनिश्चित गर्न आउन लागेका हुन् ।

यस्तो चर्चा चलेपछि स्थानीय र नेकपा कार्यकर्ताले विरोधमा एसएमएस अभियान नै चलाएका छन् । उनीहरुले पठाएको एसएमएसमा भनिएको छः नमस्ते, युगलाई चिन्नुहोला । बागलुङ आउने कष्ट नगर्नु होला ।

यसअघि इलाम क्षेत्र नम्बर १ बाट उठ्दै आएका खनाल २०५६ र २०७९ सालको निर्वाचनमा भने पराजित भएका थिए । छोटो समय बागलुङमा शिक्षण गरेका खनालले पुरानो नाता देखाउँदै सुरक्षित क्षेत्र चाहेका हुन् ।

बागलुङ क्षेत्र नम्बर २ मा यसपालि नेकपाबाट ज्ञामनाथ गैरे (अनिल), कमलप्रसाद घिमिरे, हर्क थापा, केशरी घर्तीमगर, चन्द्रलाल अर्याल, दिवश खत्री र अविशेष्क जंग श्रीर्पाली सिफारिस भएका छन् । यसअघि यो क्षेत्रमा नेकपा नेता देवेन्द्र पौडेल (सुनिल) निर्वाचित भएका थिए । क्षेत्र नम्बर १ का बासिन्दा पौडेल २ मा उम्मेदवार बन्दा त्यस बेला पनि विरोध भएको थियो ।

बारम्बार बाहिरी क्षेत्रका उम्मेदवार उठ्दै आएको यो क्षेत्रले युवा र स्थानीय उम्मेदवार पाउनुपर्ने नेता, कार्यकर्ताको माग छ । नेकपा नेता प्रकाश घर्तीले बागलुङको स्थानीयपन बुझेको नेता नै उम्मेदवार हुनुपर्ने विचार राखे ।

उनी भन्छन्, “जिल्लामा पञ्चायत कालदेखि नै बाहिरका नेताहरु सांसद बन्ने क्रम चल्यो । यसपालि जिल्लाकै भूगोल, माटो बुझेको, स्थानीय, नयाँ र युवा उम्मेदवार चाहिन्छ भन्ने नेता, कार्यकर्ताको अभिमत देखिएको छ । हामी यही कुरा पार्टीमा राख्छौँ ।”