कास्कीमा एमालेले छान्यो उम्मेदवार, युवा, जनजाति र महिला परेनन्

नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ मा वैनबहादुर क्षेत्री अधिकारी, २ मा कृष्ण थापा र ३ मा दामोदर बैरागीलाई टिकट दिएको छ ।

यसअघि प्रतिनिधिसभाका तीनै क्षेत्र जितेको एमालेका लागि यसपालिको जित चुनौतीपूर्ण हुने टिप्पणी भइरहेको छ । क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका अधिकारी एमाले कास्की अध्यक्ष हुन् । उनी पहिलो पटक संसदीय निर्वाचन लड्दै छन् ।

कास्की २ मा टिकट पाएका थापा एमाले केन्द्रीय सदस्य हुन् । उनी गएको स्थानीय तह निर्वाचनमा पोखरा महानगरको मेयरमा पराजित भएका थिए । थापा त्यस बेला कास्की २ कबाट प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयर उम्मेदवार बनेका थिए ।

कास्की क्षेत्र नम्बर ३ मा टिकट पाएका बैरागी सोही क्षेत्रका निवर्तमान सांसद हुन् । युवा, जनजाति र महिलाले कास्कीबाट टिकट पाएनन् ।

सामाजिक सञ्जालमा एमालेकै कार्यकर्ताले समेत निर्वाचन जित्ने खालका व्यक्तिलाई उम्मेदवार नबनाएको चर्चा भइरहेको छ । १ बाट दिलिप न्यौपाने, २ बाट रश्मि आचार्य र ३ बाट माधव बास्तोलाको नाम चर्चामा भएपनि अन्तिम समयमा टिकट उलटफेर भएको एमाले नेताहरू बताउँछन् ।