टिकट बाड्न कांग्रेसले बनायो संसदीय बोर्ड, देउवा पक्ष सर्वाेच्च जाने

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको छ। पार्टीका तल्ला निकायहरूको सिफारिसका आधारमा अब यो संसदीय बोर्डले उम्मेदवार चयन गर्नेछ।

उपसभापति विश्वप्रकाश शर्माले १६५ क्षेत्रमै कांग्रेसले उम्मेदवारी दिने बताए । कांग्रेसले सभापति गगन थापा, उपसभापतिहरु महामन्त्रीहरू र सहमहामन्त्रीहरू रहेको संसदीय बोर्ड गठन गरेको हो। अहिले संसदीय बोर्डमा १३ सदस्य छन्।

यता, देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै त्यस विरुद्ध सर्वाेच्च जाने निर्णय गरेको छ । बैठकका निर्णयबारे जानकारी दिँदै नेता डा प्रकाशशरण महतले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको टिप्पणी गरे।

उनले भने, ुदेशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी गम्भीर क्षति पुर्‍याउने मनसाय स्पष्ट देखिन्छ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।

बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको महतले बताए । उनले भने, ुहामी भोलि नै यसको खिलाफमा सर्वोच्च अदालत जाँदैछौं। हामीलाई विश्वास छ, सर्वोच्च अदालतबाट न्याय मिल्नेछ।

महतले शेरबहादुर देउवा नेतृत्वको समिति नै आधिकारिक रहेको र सानेपा छोड्ने प्रश्नै नउठ्ने बताए। उनले भने, ुअहिले शेरबहादुरजीको सभापतित्वमा पूर्णबहादुरजी कार्यवाहक सभापति हुनुहुन्छ। यो नै आधिकारिक पार्टी हो। निर्वाचन आयोगले निर्णय गर्दैमा हामी आधिकारिक नरहने कुरा हुँदैन।