पोखरा १७ मा सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, स्वास्थ्य बिमाको सुविधा

पोखरा महानगरपालिकाको वडा नम्बर १७ मा रहेको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रले स्वास्थ्य बिमा सेवा सुरु गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सेवा सुरुआत गरे ।

शुक्रबार आयोजित कार्यक्रममा उनले महानगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सेवा विस्तार दिने विभिन्न प्रयास गरिरहेको जनाए । उनले यहाँबाट उचित सेवा दिन गण्डकी मेडिकल कलेज (जिएमसी)सँग साझेदारी गरिएकोसमेत सुनाए ।

उनले पोखरामा जनघनत्व उच्च रहेकाले स्वास्थ्य सेवाको पहुँच पु¥याउन कठिन हुने जनाए । ‘यसपालि १७ र २५ मा सहरी स्वास्थ्य केन्द्र थपेका छौँ । नागरिकलाई गुणस्तरीय सेवा दिन हामी प्रतिवद्ध छौं ।’ महानगरले यहाँ रहेको शहरी स्वास्थ्य केन्द्रलाई शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा स्तरोन्नति गरेको हो ।

सो अवसरमा पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले नागरिकलाई घरदैलोमै सहज तवरले सेवा दिन लागिपरेको जनाइन् । उनले भवन स्तरोन्नति, तारबारदेखि प्रवर्धन केन्द्र स्तरोन्नतिसम्म सघाउने सबैलाई धन्यवाद दिइन् ।

तीन तले भवन रहेको यो सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा विशेषज्ञ चिकित्सक सेवा, प्रयोगशाला सुविधासहित स्वास्थ्य बिमाको रिफर सेवा सुरु भएको छ । शुक्रबारै अध्यक्ष शाही लगायतले मनोरथ आचार्य र कमलाकुमारी पराजुलीलाई बिमाको रिफर कार्ड प्रदान गरी रिफर सेवासमेत आरम्भ गरे ।

कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका जीवलाल खरेलले पोखरा १७ ठूलो वडा भएकाले यहाँ बिमाको सुविधा आवश्यक परेको बताए । उनले भने, ‘यसका केही फाइदा छन् । यही सेवा हुँदा एकातिर समय बचत हुन्छ भने ठूला अस्पतालहरुमा भीड पनि कम हुन्छ ।’

कार्यक्रममा पोखरा १५ का का वडाध्यक्ष तोरणबहादुर बानियाँ, पोखरा १७ का पूर्व वडाध्यक्ष तीर्थराज अधिकारी, स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, महानगरपालिकाका कानुनी सल्लाहकार सुकदेव गौतम, गण्डकी मेडिकल कलेजका निर्देशक डा टुमाया घले, महानगर स्वास्थ्य समिति सदस्य डम्मेरूप्रसाद पनेरू, वडा सदस्यहरू तारा परियार, विष्णुमाया थापा, शिवराम भण्डारी र विक्रम गुरुङले बोलेका थिए ।

समारोहमा १३ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मानसमेत गरिएको थियो ।