वैशाखमा नियमित महाधिवेशन गर्छाैं, म सबैको सभापति बनेँः गगन

कांग्रेस सभापति गगन थाापाले निर्वाचन आयोगले आफू नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि सबैलाई समेटेर अघि बढ्ने जनाएका छन् । उनले आयोगको निर्णयपछि भनेः यसलाई अत्यन्त स्वाभाविक र सकारात्मक रूपमा लिएको छु।

विधिसम्मत निर्णयलाई सबैले मान्नुपर्ने जनाउँदै उनले विशेष महाधिवेशन पार्टी फुटको विषय होइन, केवल नेतृत्व परिवर्तनको एउटा लोकतान्त्रिक प्रक्रिया भएको बताए ।

निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीले सधैँ अभिभावकीय र सम्मानजनक व्यवहार गर्ने सुनाउँर्द उनले भनेः हामीले उहाँलाई विश्राम लिन अनुरोध गरेका थियौँ, जुन बाटो हिँड्नुपर्ने थियो, हामी हिँड्यौँ। उहाँ हाम्रो संरक्षक हो, उहाँको अनुभव र आशीर्वाद हामीलाई चाहिन्छ। उहाँले यो विधिलाई स्वीकार गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।

विशेष महाधिवेशनले गुटगत राजनीति र औपचारिक समूहलाई अन्त्य गरिदिएको उनले थपेः सहभागी नहुनुभएका साथीहरूलाई पनि आह्वान गर्छु—अधिवेशनको चरण सकियो, अब म सबैको सभापति हुँ। मैले सबैलाई समान व्यवहार गर्नेछु र न्यायपूर्ण ढङ्गले काम गर्नेछु।

आफूहरु प्रतिशोधको बाटोमा नहिड्ने जनाउँदै उनले अब पार्टीको ध्यान
निर्वाचनमा केन्द्रित हुने जनाए । भने, ‘टिकटका लागि १६५ वटै क्षेत्रबाट सिफारिसहरू आइरहेका छन्। टिमले अनौपचारिक छलफल गरिरहेको छ, भोलिबाट औपचारिक काम सुरु हुन्छ।’