नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको पोखरा खण्डमा अहिलेसम्मको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पृथ्वीचोकसम्मको छ लेनको सडकमा न बिजुलीका पोल छन्, न इन्टरनेटका तार ।
पृथ्वी राजमार्गको यो खण्डमा विद्युत प्राधिकरणले भूमिगत तारबाट घरघरै बिजुली जोडिदिएको छ । यो आर्थिक वर्षभित्र राजमार्ग, पूरै लेकसाइड र मुख्य बजारका धेरैजसो भागमा भूमिगत तारबाट बिजुली पु¥याउने लक्ष्यसहित काम भइरहेको छ । आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले अहिलेकै रफ्तारमा काम भए यो आर्थिक वर्षभित्रै परियोजना सकिने जानकारी दिए ।
“अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म करिब छ सय घरमा भूमिगत तारबाट बिजुली बलिसकेको छ,” उनी भन्छन्, “परियोजनाको म्याद आगामी जुन ३० सम्म छ, यही रफ्तारमा काम भए म्यादभित्रै परियोजनाका मुख्य काम सकिन्छन् ।” अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक, रत्नचोक, राष्ट्रबैंकचोक, सहिदचोक, लेकसाइड, हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको एरियामा तार भूमिगत गरिँदै छ ।
पोखराको करिब २३ किलोमिटरमा बिजुलीका तार भूमिगत गर्दा सँगसँगै टेलिफोन र इन्टरनेट सेवा प्रदानका लागि समेत केवल बिछ्याइएका छन् । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन दुई अर्ब ५० करोड ३३ लाखमा यसको ठेक्का लिएको हो । ।
बिजुली, इन्टरनेट लगायतका तारले कुरुप भएको पोखराको सुन्दरता बढाउन महानगरले समेत अग्रसरता लिएको छ । महानगरले बिजुली तार भूमिगत हुने स्थानमा परियोजनासँग मिलेर भूमिगत तरबाट इन्टरनेट सेवा दिन र अन्यत्र अनावश्यक तार हटाउन इन्टरनेट सेवा प्रदायकहरुलाई अनुरोध गरेको छ ।
पोखराका नगर प्रमुख धनराज आचार्यले प्राधिकरणसँग समन्वय गरी भूमिगत तारबाट सेवा दिन र अन्यत्रका अनावश्यक तार एक महिनाभित्र हटाउन निर्देशन दिए । “अनावश्यक तार एक महिनाभित्र हटाउन भनेका छौँ, नहटाए महानगर आफैंले हटाउँछ,” उनले भने ।
प्राधिकरणले बिजुलीका तार भूमिगत गरेका क्षेत्रका पोल हटाएपछि इन्टरनेट सेवा प्रदायकहरु भने अप्ठेरोमा परेका छन् । राजमार्ग क्षेत्रका पोल हट्दा भित्री सडकबाट तारमार्फत् उनीहरुले सेवा प्रवाह गरिरहेका छन् । इन्टरनेट सर्भिस प्रभाइडर ग्रुपका अध्यक्ष अरुण ताम्राकार महानगरसँग एउटै तार सेयरिङ गरी सेवा दिनेबारे छलफल भइरहेको बताउँछन् ।
अनावश्यक तार हटाउने र एउटै तार सेयरिङ गरी सबै आइएसबीले सेवा दिनेबारे छलफल भइरहेको उनले सुनाए । भने, “यो काम तुरुन्ता तुरुन्तै हुन सक्दैन, प्राधिकरणको भूमिगत केवल प्रयोगको कार्यविधि आए हामीलाई अझ सहज हुने थियो ।”




