कुना गाउँको तल्लो भेकमा गुजमुज्ज बस्ती छ । जुन बस्तीमा कामीहरु बस्छन । बस्तीको पुछारमा हर्के कामीको घर र आरन थियो ।
छेउमा बाख्राको खोर । भित्र कुखुरा डोकामा थुनेका । त्यसैको छेउमा अगेनो । अगेना पारी लाइनबद्ध विस्तारा । बाहिर सुगुर पालेका । कुखुरा र सुगुर वेपर्वाह आँगनमा रनवन डुलेका । चिप्लो काउली पलाएको आँगनमाथि नबढारिएको फोहोर । घरको पालि चुहिने । आँगनको सानो पाखोमा हर्के दाईले घन ठटाईरहेका । खलासी ठुलो छोराले चलाइरहेको । यि दृश्यावलीको देखि जान्ने साक्षी थिएँ म । प्रायश ः आँसी, फाली, बाउसा बनाउन जान्थे ।
हर्केदाई चिच्याउथे, ‘ओइ मैताकी आमा, कता मरिस यहाँ गोल सकियो । .......... ठुला घरे बिस्टको अाँसी कता राखिस, यता आरनमा ल्याइज मोर । अझ बोल्दिनस्, मेरा भन्दा पनि यो राँडका कान बहिरा रहेछन् क्या हो ।’
केही क्षण पछि हर्कली भाउजु बोल्थिन – ‘तिम्ले कति खेर बोलाउँछौ भनेर कान थापेर बस्न भ्याउँछु र म । आफ्ना कत्तिका काम छन् हुवाँ । कस्ले गर्छन ? छोरा छोरी ढिँडाका काल मात्र हुन ।’
‘त्यस्ता छोरा छोरी किन पाइथिस् त नि ।’
‘मैले मात्र पाउने भएको भए त, माइतबाटै पाएर ल्याउथे होला नि ।’
आरनमा बसेका रसिक मानेर हाँस्थे । म भने काँचो कचिलो उमेरको, सायद कुरा नबुझेर अलमलिन्थे । हर्के दाई भने नहाँसिकन जवाफ फर्काउथे, ‘पाइ होलिस क्यारे नि माइतमा पनि, भन्न पो मिलेन ।’
हर्कली भाउजु हातका आँसी आरन छेउमा राख्दै भन्थिन, ‘मुखमा किरा पर्लान, जे पायो त्यही नबोल् । त्यस्तै बोल्छौ र त विष्टवानहरुले हेप्छन् ।’ अनि डालाबाट आरनमा गोल खन्याईदिन्थिन ।
‘तेरो छोरा त गयो, एक छिन खलाँसी चला त ? म चुरोट तान्छु । कस्तो तल तल लाग्यो ।’
छिन छिनमा चुरोट तानिरहनु पर्ने आदत थियो, उनको । त्यसरी तान्दा बडो आनन्द मानेको महसुस अनुहारमा झल्किन्थ्यो । प्रायश ः आँसी, बाउसा, फाली या अन्य केही फलामे सामान बनाउन जाँदा मैले कि त चुरोटको पाकेट लागिदिन्थे । या त चुरोट खाने पाँच÷दश रुपैयाँ दिन्थे । दाई मख्ख
हुन्थे ।
तिनका छोराछोरी धेरै थिए । जहिले जाँदा पनि नाङ्गैबुङ्गै आगनमा कुखुरा, बाख्रा र सुघुरका पाठा पाठीसँग खेलेका देखिन्थे । असाध्यै सर्वहारा लाग्ने जीवन स्तर देख्दा टिट लाग्थ्यो । अनि हर्के दाई र हर्केली –भाउजुले बोलेको सुन्दा सुनांै सुनौं लाग्दथ्यो । एक प्रकारको रमाइलो लाग्थ्यो । आफ्नोपन पनि ।
घरमा आँसी बनाउन जाने मेरै काम भित्र पर्दथ्यो । तर पनि म कहिल्यै अल्छी र नाइनास्ती गर्दैनथे । हर्के दाईको घरायसी वातावरणसँग मेरो प्रेम बसे जस्तो भान हुन्थ्यो ।
समय एक जुग घर्केसरी बदलियो । हर्के दाई कहाँ नगएको पनि १० वर्ष जति भएको थियो । समयको वहावमा धेरै बदलिन सक्थ्यो । तर खासै परिवर्तन ति घरायसी अवस्थामा आएको रहेनछ । सिवाय उमेरले छोराहरुलाई तरुनो बनाएछ । समयले हर्के दाई र ति हर्केली –भाउजुलाई केही बुढो बनाएछ । अनि युवा श्रम विदेश निर्यात गर्ने स्वाभिमानी राष्ट्रको नीति अनुरुप दुई वटा छोरा मलेसिया गएछन् र खरको छानोको साटो तिन टल्काएछन् । नत्र भने हर्के दाइ त्यही रहेछन्, जिर्ण कटेरोमा आरन पिटी रहेका । पिटेका आँसी र वाउसामा पाइन हालिरहेका ।
करिब साढे छ मिटर अग्लो कदको ज्यान । गोल जस्तो कमिज लगाएका । त्यस्तै रङ्गको कट्टु लगाएका । खिप हराएर होला पेटि घरमा डोरीले बाँधेका । टाउकोमा चाउलो फाटेको टोपी लगाएका । समुल शरीर कुपोषणले निचोरे जस्तो । मलाई उनको हुलिया देखेर असाध्यै माया, दया र स्नेह जाग्यो, । तर माया मान्दैमा मसँग के थिया र ? हातमा चुरोटको पाकेट राखि दिएँ । र, आँसी आरन नजिकै
राखें ।
‘सन्चै हुनुहुन्छ ठुला कान्छा बाबु ?’
‘सन्चै दाई, अलि दुब्लाउनु भएछ ।’
‘छोड्दिनेस बाबु । अब घाटमा जाने बेलाँ ।’
त्यति ने बेला हर्कली भाउजु आइन । ‘ए आज त ठुुला कान्छा बाबु आउनु भएछ, कति समय पछि । म घर जाँदा पनि सोधि राख्थे ।’
‘आरामै हुनुहुन्छ भाउजु ?’
‘विष्टहरुको आर्शिवाद लागेको छ बाबु, आरमै छौ बाबु ।’
कालो बर्णकी ति हर्केली –भाउजुका बोल्दा जहिले पनि सेता दाँत हाँस्दथे । उनी मुजुरी उठाउन घर घर आउँथिन तर कहिल्यै पाथी मानामा धेरथोर भयो भनेर गुनासो गर्थिनन् । जति दिए पनि डालामा खन्याउँथिन । मुस्काउँथिन । तरकारी दिँदा खुशी दुईगुना बढाउँथिन । र, हिँड्ने बेलामा ‘जय होस हजुरहरुको’ भनेर बाटो लाग्दथिन ।
विचरा दुःखिका दिन दुःख भै रमाउँदा रहेछन् । दुःखमा खुशी फल्नु र फुल्नु नै गरिवहरुको विशेषता हुँदो रहेछ । धन हुने सायद जति नै भए नि लोभले चिन्ता बेसाउँछ । गरिवहरु विहान बेलुकाको छाक टार्न सक्ने गुजाराको निम्नतम हैसियतमा जीवनको सफलता ठान्छन् । मिठो मसिनो जे पाकेको छ, परिवार वरिवरि बसेर स्वाद लिन्छन् । खुशी र सन्तुष्टि चाखलाग्दो गरि मुहार भरि छाउँछन् । जुन खुशी महलमा बस्नेको भान्छा पनि नपाक्न सक्छ । नभेटिन सक्छ । जुन सन्तष्टि अर्वपतिको विस्तारामा अनिन्द्रा बनेर छटपटाउन सक्छ ।
दिनभरि काम ग¥यो, जे पाकेको छ मिठो मुखले परिवारसँग खायो । थाकेको शरीर आफुलाई निन्द्रामा विलय गरायो । यही दैनिकीमा सायद हर्के दाईको परिवारले जीवनको मर्म बुझेको थियो । एक प्रकारको पसिनाको सुगन्धमा, श्रमको क्षमतामा र कर्मको विरासतमा बाँचेको थियो । तिनको जीवन । ति हर्कली भाउजु भन्थिन, ‘आजसम्म त विष्टहरुको मुजुरीले घर चलेको छ । अब कतिन्जेल दाइले धन ठोक्न सक्लान र बाबु । यो आरन पनि सेलायो भने क्यारेर काल भेटाउने ।’
उनको चिन्तामा ठुला सपना थिएनन् । हात मुख जोर्ने गर्जा थियो । ‘भगवानले एउटा न एउटा उपाय लाउलान नि । के भोक भोकै मर्न देलान त नि ।’ मैले शान्त्वना दिने ध्येयले भनेको थिएँ ।
‘खोइ बाबु ! कलियुग लागेर हो कि क्या हो । भगवान पनि हुने खाने र अधर्मीहरुलाई मात्र हेर्दा रहेछन् । हामी जस्ता भोका बुङ्गालाई त सरापै मात्र दिँदा रहेछन कि कुन्नी ।’ ति हर्केली –भाउजुले आत खोल्दै भनिन , ‘बृद्धा भत्ता बढाउँछन् भन्थे बाबु । पाँच हजारसम्म पु¥याँछन भन्ने सुन्थे मेलाँ । कहिले बढ्छ होला ।’
‘के बढाउथे भत्ता । नेताहरुलाई नै थोरै भएको छ, राष्ट्रको ढुकुटी’ हर्के दाईले मुख बिगार्दै भने, ‘नेता पनि त्यस्तै हुन, भगवान भनेका पनि त्यस्तै हुन ।’ मैले जवाफ दिनु भन्दा पहिला उनले भनेका थिए । तर उनको भनाईमा एउटा श्रमिकको आवाज थियो ।
पानी प¥यो, आरनको छेउछाउमा तपतपी थोपा प¥यो । ति हर्केली –भाउजुले भनिन, ‘अलि यता सर्नाेस बाबु । थोपा चुहय ।’
म अलिकता सरे ।
‘यति छानो पनि फेर्न सकिएन । विष्टहरु आउँदा रुख मुनि बसे जस्तो भयो । अलि ठुलो पानी पर्दा साथ चुहिने ।’ हर्केली –भाउजुले निन्याउरो मुख लाउँदै भनीन ।
म आरनको विजोग, तिनीहरुको स्थिती र हर्के दाईको बाध्यता देखेर उदासिएको थिए । हर्कली भाउजु भने बोल्दै थिइन्, ‘चुनावमा भोट माग्न आउँदा आरन छाइदिन्छौ, अब खलाँसी चलाउन पर्दैन आरन मेसिन ल्याइदिन्छौँ भन्थे । भोट हालियो । जितेपछि नाम मुखै देखाएनन् । कम्युनिष्टका नेता टोपलिएका नयाँघरे माइलालाई भन्यो । सुनिञ्जेल ‘ह ल ः ह ल, म वडा अध्यक्षलाई भन्छु । त्यति सानो कुरालाई किन चिन्ता मान्छेउ’ भन्छन् । भनेपछि गरदेलान त नि भनेर आसामुखी भयो । के गर्दिनु, बोलीले मात्र ठिक्क पार्ने । वर्षौं बित्यो । अचेल त भन्न पनि छाडिदिए । कति भन्नु एउटै कुरा धर्मछाडाहरुसँग ।’
म सोचमग्न भएँ । लाग्यो, गरिबलाई किन आशा देखाउनु, आशा देखाइसके पछि किन निराशा पार्नु ? कस्ता प्रवृत्तिका हुँदा रहेछन् नेता भनाउँदाहरु ।
मैले केही सान्त्वनाजन्य प्रतिक्रिया जनाउन लागेको थिएँ । त्यही बेला घन ठटाइरहेका हर्के दाईले भने, ‘के गर्ने बाबु दुई छाक खान र एकसरो लाउन त जेनतेन टरेकै छ । यि नेताहरुको भरोसा पर्नुछैन तर यिनको कर्तुत सम्झिने हो भने तिनलाई भोट दिएका यि हातलाई यहि घनले पिटेर थिलोथिलो पारौँ जस्तो लाग्छ ।’
उनको भनाईले मेरो मर्मस्थल छुन्छ ।




