लामेआहालको ल्यान्डफिल भरियो, अब फोहोर कहाँ लैजाने ?

सोमबारदेखि पोखरा महानगरको फोहोर उठ्न सकेको छैन । वडा नम्बर ३२ को लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल भरिएपछि त्यहाँ फोहोर लैजान बन्द गरिएको छ ।

तीन दिनदेखि फोहोर सडक किनारमै थुप्रिएको छ । स्थायी ल्याडफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लामेआहालमा फोहोर फाल्दै आएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि वडा नम्बर १४, बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइट बन्द गरिएको थियो । विमानस्थलको दुई किलोमिटरमा रहेको ल्यान्डफिल बन्द गरी अस्थायी रुपमा फोहोर विसर्जन गर्दै आएको महानगरले अझै अर्काे ल्यान्डफिल साइट व्यवस्थापन गर्न सकेको छैन ।

महानगरका सरसफाइ महाशाखा प्रमुख हर्क गायकले अस्थायी ल्यान्डफिल साइट भरिएको र वैकल्पिक व्यवस्था भइनसकेको बताउनुभयो । “लामेआहालको अस्थायी ल्यान्डफिल भरियो, फोहोर तीन दिनदेखि सडकमै छ,” उहाँले भन्नुभयो ।

वडा नम्बर ३३ मा महानगरले आधुनिक फोहोर प्रशोधन केन्द्र बनाउने योजना बनाए पनि विवादले कामअघि बढ्न सकेको छैन । अस्थायी रुपमा फोहोर बिसर्जनको कुनै स्थान यकिन भइनसकेको महानगर स्रोतले जनाएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।