पोखरा उपत्यकामा चराको संख्या बढ्दा, प्रजाति विविधता घट्यो

पोखरा उपत्यकाका ताल तथा सिमसार क्षेत्रमा सन् २०२६ को जनवरी ९ मा सम्पन्न Asian Waterbird Census (AWC) को नतिजा सार्वजनिक गरिएको छ । सन् २०२५ को तथ्यांकसँग तुलना गर्दा यस वर्ष कुल चराको जनसंख्या १०.२ प्रतिशतले वृद्धि भए पनि चराको प्रजाति विविधता १३.२ प्रतिशतले घटेको पाइएको छ ।

तथ्यांकअनुसार सन् २०२५ मा ५३ प्रजातिका चरा अभिलेख भएका थिए भने सन् २०२६ मा यो संख्या घटेर ४६ प्रजातिमा सीमित भएको छ । यद्यपि, कुल चराको संख्या भने ३,४३६ बाट बढेर ३,७८६ पुगेको छ, जुन उत्साहजनक संकेत हो ।

क्षेत्रगत रूपमा हेर्दा रूपा ताल सबैभन्दा सकारात्मक देखिएको छ, जहाँ प्रजाति संख्या र चराको जनसंख्या दुवैमा वृद्धि भएको जलपंछी गणना पोखराका क्षेत्रीय संयोजक मनशान्त घिमिरेले बताए । मैदी तालमा पनि प्रजाति संख्या बढ्नुका साथै चराको संख्या वृद्धि भएको पाइएको छ, जसले ती क्षेत्रहरूमा आवास अवस्था अपेक्षाकृत अनुकूल रहेको संकेत गर्दछ ।

तर दिपाङ, गुन्दे र खास्टे जस्ता क्षेत्रमा चराको प्रजाति तथा जनसंख्यामा उल्लेखनीय गिरावट देखिएको छ । विशेषगरी दिपाङ तालमा चराको जनसंख्या करिब ५९ प्रतिशतले घट्नु संरक्षण दृष्टिले चिन्ताजनक मानिएको छ ।

फेवा ताल अझै पनि सबैभन्दा धेरै चराको बासस्थान बनेको छ । यद्यपि, यहाँ प्रजाति विविधता घट्दै गएको तथ्यांकले दीर्घकालीन संरक्षण, जलाशय व्यवस्थापन र मानवीय गतिविधि नियन्त्रणमा थप ध्यान दिनुपर्ने देखाएको छ ।

प्रजाति विविधता घट्दै जानु र कुल चराको संख्या बढ्नुले केही सीमित प्रजाति ठूलो संख्यामा केन्द्रित भइरहेको अवस्था देखाउँछ । यसका कारणमा आवासको एकरूपता, जलाशयको अवस्था, मानवीय दबाब तथा मौसमी प्रभाव प्रमुख कारक रहेका छन् ।

दिपाङ, गुन्दे र खास्टे ताल क्षेत्रमा आवास सुधार, नियमित अनुगमन र संरक्षणमुखी कार्यक्रम आवश्यक रहेको छ साथै रूपा तालमा अपनाइएका संरक्षण अभ्यासलाई अन्य ताल–सिमसार क्षेत्रमा पनि विस्तार गर्न सकिने छ ।

पोखरा उपत्यकाका ताल तथा सिमसार क्षेत्र जैविक विविधता र प्रकृति–आधारित पर्यटनका लागि महत्वपूर्ण भएकाले स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच सहकार्य गर्दै दीर्घकालीन संरक्षण रणनीति अपनाउनुपर्ने आवश्यकता रहेको छ ।