युनाइटेड क्लबको आयोजनामा हुन लागेको १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । यसपालिको महोत्सव पुस २९ देखि माघ ११ गतेसम्म अमरसिंह चौरमा हुँदै छ ।
महोत्सवमा २ सय ५० स्टल रहने छन् भने साढे २ लाखले अवलोकन गर्ने कार्यक्रम संयोजक दिनेश सुनारले बताए । महोत्सवमा टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ स्थापना भएको क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको काम गर्दै आएको छ ।
क्लबले २० सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले पोखरामा खुला चिडियाखाना निर्माणमा ५८ लाख ८५ हजार सहयोग गरेको छ । आगामी शैक्षिक सत्रदेखि कार्यविधि निर्माण गरी छात्रावास सञ्चालनमा ल्याउने क्लबको तयारी छ । पोखरा २७ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्रावास निर्माण गर्न लागिएको छ ।
महोत्सवमा सामान खरिद गर्ने उपभोक्तामध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १ टनको पेटर एसी, दोस्रो भाग्यशाली उपभोक्तालाई १५ लि भिक्ट्री वाटर डिस्पेन्सर मोनाको गिजर, तेस्रो भाग्यशाली उपभोक्तालाई बेटर बेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कल्ससोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गर्न सक्ने छन् ।
आयोजक युनाइटेड क्लबले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट१ रुपैयाँ सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरतासमेत बताइयो । महोत्सवको टिकट अनलाइन रेभल एपमार्फत समेत बुकिङ गर्न सकिनेछ ।
महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले शारीरिक अशक्त, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका बालबालिका र सुरक्षाकर्मीहरुलाई निशुल्क प्रवेश दिइने बताए । १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टल रहेका छन् । महोत्सवले देशको कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितिर पु¥याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिने अपेक्षा छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकलाको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधि प्रदर्शनी एवं जानकारी दिइनेछ । महोत्सव उद्घाटन समारोहमा लोकप्रिय अभिनेता बिपिन कार्की र विजय बरालको उपस्थिति रहनेछ ।
महोत्समा चर्चित लोकदोहोरी गायकगायिका रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समीक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरविरही गुरुङ लगायतका कलाकारको प्रस्तुति रहनेछ । लाइभ कन्सर्टतर्फ लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, लेकाली, एवाइजी, रकहेड्स, जेम्सी, सविन राई, भिटेन र पर्पलसँगै स्थानीय ब्यान्डहरुको प्रस्तुति रहनेछ ।




