पोखरा महोत्सवमा सुरक्षा निकाय र आयोजक मिलेर चुस्त सुरक्षा व्यवस्था

पोखरा महोत्सवको १४ औं संस्करणमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसिटिभी क्यामेराको निगरानीबाट सुरक्षा प्रदान गरिने भएको हो ।

कास्कीका सुरक्षा निकायका प्रतिनिधी र महोत्सव आयोजक बिचको बैठकले महोत्सवमा भइपरी हुन सक्ने घटनालाई मध्येनजर गरी महोत्सव स्थलको सुरक्षालाई चुस्त बनाउने निर्णय गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विगतका वर्षभन्दा यो वर्ष सुरक्षामा विशेष ध्यान दिनुपर्ने वताइन ।

अघिल्लो संस्करणमा कुनै अप्रिय घटना नघटेको भएता पनि अहिलेको परिस्थिति फरक रहेका कारण त्यसमा सम्पूर्ण सुरक्षा निकायले ध्यान दिन आवश्यक रहेको बताइन् । महोत्सवकै आम्दानीबाट सामाजिक काम मार्फत युनाईटेड क्लबले आफ्नो पहिचान बनाउन सफल भएको बताउदै शर्माले १४ औं पोखरा महोत्सवको सफलताको कामनासमेत गरिन् ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले महोत्सवमा कानुनले बञ्चित गरेका क्रियाकलाप सञ्चालन गर्न नहुने बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जेन्जी आन्दोलन पछि कानुन हातमा लिने गरी मानिसहरुले अवान्छित क्रियाकलापहरु गर्ने गरेको बताउदै महोत्सव स्थलमा त्यस्ता हर्कत गर्नेलाई कडा कारबाही गर्ने बताए । पोखरा महोत्सव अन्य महोत्सवभन्दा फरक हुने भएकाले आफुहरुले त्यही अनुरुप सुरक्षा योजना बनाइ अगाडी बढेको उनको भनाइ रहेको थियो ।

सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले महोत्सवमा आवश्यक पर्ने सुरक्षाका लागि आफ्नो मातहतबाट सुरक्षाकर्मी परिचालन हुने बताए । युनाईटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले विगतका महोत्सवहरुमा सुरक्षा निकायको साथ र सहयोगले नै कुनैपनि अप्रिय घटनाहरु नभएको र यस पटकपनि साथ र सहयोग रहनेमा आफु आशावादी रहेको बताए ।

क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका कार्यसमिति सदस्य तथा महोत्सवका सुरक्षा व्यवस्थापन उपसमिति संयोजक बुद्ध कार्कीले महोत्सव स्थलको बारेमा जानकारी गराएका थिए ।