जिल्ला प्रशासन कार्यालय कास्कीले यो आर्थिक वर्षको करिब छ महिनामा राहदानीवापत तीन करोड पाँच लाख तीन सय राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुस २० गतेभित्र पाँच हजार आठ सय ४६ जनाले राहदानीका लागि कास्कीबाट आवेदन गर्दा यो राजस्व जम्मा भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सङ्घ, संस्था दर्ताबाट छ लाख ३० हजार पाँच सय ७०, हातहतियार नवीकरणबाट नौ लाख ८८ हजार एक सय २५, न्यायिक दण्ड, जरिवाना ११ लाख ८६ हजार सात सय ९० रुपैयाँ राजस्व जम्मा भएको बताउनुभयो । यो अवधिमा कार्यालयले सात लाख २२ हजार नौ सय दुई रुपैयाँ बेरुजू असुल गरेको छ ।
कास्कीको माछापुच्छ«े गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाईमा बरालले यो तथ्य प्रस्तुत गर्नुभएको हो । कार्यालयले यो अवधिमा कार्यालयले चार हजार तीन सय ८५ नयाँ नागरिकता जारी गरेको छ । यही अवधिमा नागरिकताको प्रतिलिपि लिने पाँच हजार एक सय ४४ जना छन् भने १६ जनाले नागरिकता परित्याग गरेका छन् । यही अवधिमा १३ जनाले आमाको नामबाट र २३ जनाले गैरआवासीय नागरिकता पाएका छन् ।
यो अवधिमा सबैभन्दा बढी मुद्दा बैकिङ कसूरका देखिएका छन् । बैकिङ कसूरका तीन सय ५० मुद्दा प्रशासनमा पर्दा आत्महत्याका मुद्दा ६६ र लागुऔषधका ५५ मुद्दा दर्ता भएका छन् । छ महिनामा कार्यालयले तीन करोड ६४ लाख १६ हजार बजेटमध्ये चालुतर्फ ४८ र पुँजीगततर्फ ३५ प्रतिशत खर्च भएको छ ।
कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले शान्ति, सुरक्षालाई विकास, निर्माण र समाजकै एक पक्षमा रुपमा लिनुपर्ने विचार राख्नुभयो । उहाँले कास्की प्रशासनले यथाशक्य छिटो र सहज तवरले सेवा दिने प्रयत्न गरेको सुनाउनुभयो । “हामीले एक ढोकाबाटै त सबै सेवा दिन सकेका छैनौँ, एकै तलाबाट सबैजसो सेवा दिइरहेका छौँ,” उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कार्यालय र दस्तावेजहरु खडा गरी सेवा दिइएको सुनाउँदै उहाँले नागरिकको साथ, सहयोगको अपेक्षा गर्नुभयो । “हामी अप्ठेरोमा चाहिँ छौँ तर अभिलेखविहीन छैनौँ, भएका अभिलेखका आधारमा जनतालाई छरितो सेवा प्रदान गर्न म आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।
माछापुच्छ«े गाउँपालिकाको व्यवस्थापनमा लाहाचोकमा भएको कार्यक्रममा पालिका अध्यक्ष मीनबहादुर गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का कारण विभिन्न कठिनाइ भोग्नुपरेको सुनाउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, सशस्त्र प्रहरी बल कालिका गणका गणपति सूर्यप्रसाद तिमिल्सिना, जिल्ला समन्वय अधिकारी नवराज बराल, कास्कीका प्रमुख मालपोत अधिकृत कालीबहादुर भुजेल, खानेपानी संस्थान कास्की प्रमुख आशीष कार्की लगायतले आआफ्ना कार्यालयबारे उठेका सवालको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा प्रशासकीय अधिकृत झविश्वर रेग्मी, स्थानीयहरु प्रचण्डशक्ति गुरुङ, सुरज अधिकारी, गोविन्द्रप्रसाद अधिकारी लगायतले गुनासा र जिज्ञाशा राखेका थिए । कार्यक्रममा माछापुच्छ«ेका वडाध्यक्षहरुले सरकारी कार्यालयमा सेवाग्राहीहरुले विभिन्न समस्या भोग्नुपरेको गुनासो सुनाउनुभयो ।




