पोखरा महोत्सवको १४ औं संस्करणलाई पोखराका विभिन्न संघ, संस्थाले साथ दिने भएका छन । यही पुस २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा हुने महोत्सवमा विभिन्न संघ, झाँकी तथा ¥यालीमा सहभागी गराएर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
महोत्सव आयोजक युनाइटेड क्लबले आयोजना गरेको कार्यक्रममा सहभागी उनीहरुले पोखरा महोत्सवको आयोजना गरी क्लबले सामाजिक काम गर्ने भएकाले आफूहरुको पनि साथ रहने जनाए । क्लबका पूर्वअध्यक्ष तथा १४ औं पोखरा महोत्सवका झाँकी ¥याली व्यवस्थापन उपसमिति संयोजक सुकबहादुर गुरुङले विगतमा जस्तै साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।
संघ, संस्था व्यवस्थापन उपसमिति संयोजक सीमा गुरुङले पोखरा महोत्सवको उद्घाटन पूर्व आयोजना गरिने झाँकीले पोखरा महोत्सवको शोभा बढाएको बताइन । अघिल्लो वर्ष ३ सय १५ संघ, संस्थाले झाँकी, ¥यालीमा सहभागिता उल्लेख गर्दै उनले यसपालि त्योभन्दा बढी नै सहभागिता जुट्ने उनको अपेक्षा छ ।
क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले पोखरेलीको साथ र सहयोगले नै पोखरा महोत्सव १४ औं संस्करणसम्म आइपुगेको बताए । कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष शान्तबहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले बोलेका थिए ।




