पोखरामा मदिरा तथा लागुपदार्थ दुव्र्यसनले निम्न मध्यमवर्गीय परिवार र युवाको जीवनमा पारेको गम्भीर असर उजागर गर्ने नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन…’ मञ्चनको तयारीमा छ । पद्याप्रेम थियटरको प्रस्तुतिमा तयार भएको यो नाटक सावित्रा पाठक (सबु)ले लेखेकी हुन् भने निर्देशन पञ्चसुब्बा गुरुङ र शीतला अधिकारीले गर्दै छन् ।
देश, मानवता, स्वाभिमान र न्यायका लागि योगदान वा बलिदान गर्नु नै मर्न जान्नु हो भने नशा, दुव्र्यसन र अपराधको दलदलमा फस्नु जीवन नबुझ्नु भएको सन्देश नाटकले दिन खोजेको छ । नाटकमा सहरकी निम्न मध्यमवर्गीय एकल आमाले सन्तानको भविष्य निर्माणका लागि गरेको अथक संघर्ष र त्यस क्रममा आइपर्ने आर्थिक, सामाजिक तथा भावनात्मक उल्झनलाई प्रस्तुत गरिएको छ । छोरी मनस्वीको भूमिकामा शीतला अधिकारी, आमाको भूमिकामा रोशनी रामदाम र भाइ अनन्तको भूमिकामा अभिषेक भुसाल देखिन्छन् । साथै जय चापागाई र प्रतिभा गुरुङको पनि अभिनय रहेको छ ।
कथाले नशाको लत, प्रविधिको दुरुपयोग, प्रेमको नाटक र देहव्यापारजस्ता अपराधजन्य गतिविधिले युवाको जीवन कसरी तहसनहस बनाउँछ भन्ने डरलाग्दो यथार्थ देखाउँछ । सोझी युवतीलाई प्रेमजालमा पारेर शोषण गर्ने मानसिकताको परिणाम, पुस्तान्तरबीचको बुझाइको समस्या र वैदेशिक रोजगारीका नाममा हुने ठगी नाटकका प्रमुख घटनाहरू हुन् ।
निर्देशक गुरुङका अनुसार कठिन शारीरिक श्रम गरेर भए पनि छोराछोरीको भविष्य उज्ज्वल बनाउन चाहने आमाको संघर्ष र छोरीभन्दा छोरालाई प्राथमिकता दिने सामाजिक मनोविज्ञान नाटकको महत्वपूर्ण पक्ष हो । राम्ररी नबुझी घर धितो राखेर सन्तान विदेश पठाउँदा कसरी एकातिर उठिबास हुन्छ र अर्कातिर सम्पत्ति अर्कैको हातमा पुग्छ भन्ने यथार्थ पनि नाटकले देखाएको छ ।
नाटकको अन्त्यमा दीपकको हत्या हुन्छ भने मनस्वी दुर्घटनामा परेर ज्यान गुमाउँछे । पात्रहरू न त जीवनलाई बुझेर बाँचेका छन्, न त स्वाभाविक मृत्यु नै पाएका छन् । बाँचेका पात्रहरू पनि मरेतुल्य जीवन बाँच्न बाध्य छन् । यसमार्फत नाटकले ‘मृत्यु यस्तो हुनु हुँदैन’ भन्ने जीवनवादी दृष्टिकोण प्रस्तुत गर्छ ।
करिब एक घन्टा अवधिको यो नाटक पोखरा नाटकघरमा पुस २४ देखि २६ गतेसम्म पाँच शो प्रदर्शन हुँदै छ । पद्याप्रेम थियटरको यो तेस्रो प्रस्तुति हो । यसअघि यस संस्थाले जानकी र धनिरामको गोरु मञ्चन गरिसकेको छ ।




