पोखरामा शुक्रबारदेखि ४ दिनसम्म बिहान बत्ती नआउने

पोखरामा शुक्रबारदेखि चार दिनसम्म दैनिक ५ घण्टा बिजुलीको लाइन काटिने भएको छ । पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ ।

शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गर्ने तयारी गरिएको केन्द्रका ग्रिड महाशाखा प्रमुख रोशन खड्काले जानकारी दिनुभयो । शुक्रबारदेखि ४ दिनसम्म विहान ६ बजेदेखि ११ बजेसम्म पोखराको कहीँ पनि बिजुलीको लाइन आउने छैन । कुँडहर सबस्टेसनबाट सञ्चालित सबै फिडरहरु सटडाउन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

पुस १८ देखि २१ गतेसम्म चल्ने मर्मत सकिएपछि बिजुलीको नियमित आपूर्ति हुनेछ ।