कविशिरोमणि लेखनाथ पौड्यालको जन्म जयन्तीका त्रिदिवसीय कार्यक्रम आइतबारदेखि सुरु भएका छन् । पौड्यालको १४२ औं जन्मजयन्ती त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रमसहित बनाइँदै छ ।
आइतबार लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता भएका हुन् । लेखनाथ लायन्स क्लबका अघ्यक्ष बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले लेखनाथको स्मृतिमा सिर्जित कवितावाचन गरे ।
कार्यक्रममा नेपाल सगीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले लेखनाथको काव्यहरु नेपाली भाषा र साहित्यका अमूल्य निधि भएको उल्लेख गरे । कार्यक्रममा लेखनाथका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकमा विद्यावारिधि गरेका डा बोधराज ढकाल, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डा जगन्नाथ रेग्मी, साहित्यकार नारायण मरासिनी लगायतले लेखनाथका काव्यबारे चर्चा गरेका थिए ।
त्रिदिवसीय कार्यक्रम अन्तर्गत सोमबार कविशिरोमणि जन्मस्थल सरसफाइ र मंगलबार अर्चलेमा मूल समारोह हुने छन् । विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्शकी मनिषा खनाल प्रथम, रिलायन्स पब्लिककी निष्ठा भट्टराई द्वितीय, लिटल फ्लावरकी सुदीक्षा पौडेल र जेसिएकी सुरक्षा बराल तृतीय भए ।
राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल कुमाल प्रथम, प्रेमनारायण ढकाल द्वितीय, श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय ठहरिएका छन् । कविताको गद्यतर्फ केनिका गिरी प्रथम, उमाकान्त पोखरेल द्वितीय र सुदिना पौडेलले तृतीय स्थान पाए ।




