सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले २०४६ सालपछि च्याऊ उम्रे जस्तै सञ्चार माध्यम खुलेको चर्चा गर्दै नेपाल जस्तो देशमा यति धेरै सञ्चार माध्यम आवश्यक नभएको औंल्याएका छन् ।
‘देशमा १४ या १५ हजार सञ्चार माध्यम छन् । नेपाल पत्रकार महासंघका सदस्य ९ हजार ३ सय ३० सहित १४ या १५ हजार पत्रकार छन्,’ मन्त्री खरेलले भने, ‘एक पत्रकार एक सञ्चार माध्यम जस्तो भयो । यसरी मिडियाको कसरी दिगोपन हुन्छ ?’ उनले अर्थतन्त्र चलायमान नभए सञ्चार माध्यम चल्न नसक्ने तर्क गरे ।
मन्त्री खरेलले लोककल्याणकारी विज्ञापन व्यवसायिक रुपमा चल्ने सञ्चार माध्यम समक्ष नपुगेको स्वीकारे । अनलाइन न्युज पोर्टललाई गलत दृष्टिले हेर्न नहुने चर्चा गर्दै उनले न्युमिडियालाई मूलधारको मिडियाको रुपमा आत्मसात गर्नुपर्ने विचार राखे । उनले विषयवस्तुमा नयाँपन दिन र सिर्जनात्मक बन्न आग्रह गरे ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले मुख्य राजनीति दलका शीर्ष नेता र प्रधानमन्त्री सुशीला कार्कीबिचको छलफलले चुनावी वातावरण बनाउन ठुलो सहयोग पुगेको उल्लेख गरे । ‘सबै दल चुनावमा जान सहमत भएका छन्,’ उनले भने, ‘नयाँ दल गठबन्धन र साझेदार खोज्दै छन्, पुराना दलहरु चुनावमा होमिइसकेका छन् ।’
मन्त्री खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार आम सञ्चारलाई व्यवसायिक बनाउन, यस क्षेत्रमा विकसित अवधारणा सम्बन्धी अन्तक्र्रियामा बोल्दै थिए ।




