निर्वाचनमा जान सबै दल तयार

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दल तयार भएका छन्।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरु दल पनि रेडी छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज तुल्याउँदै आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न सरकारले दलहरूसँग निरन्तर वार्ता र संवाद अघि बढाएको हो ।

यसअघि शुक्रबार नेपाल सरकारका प्रवक्ता खरेलले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई उहाँहरूको निवासमा पुगेर भेटवार्ता गर्नु भएको थियो ।