बालेनको राजनीतिक छलाङ: ‘देश विकास पार्टी’मार्फत देशव्यापी चुनाव लड्ने तयारी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक समीकरण बनाउन तीव्रता दिएका छन् । उनी अब संसदीय राजनीतिमा सक्रिय हुने भएका हुन् ।

यसका लागि उनले विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका सदस्यहरुसँग सहकार्य अघि बढाएका छन् । ललितपुरको कुपण्डोलस्थित कुमार व्यञ्जनकारको निवासमा बालेनले दुई दिनदेखि लगातार छलफल गरिरहेका छन् । उनले सबै नयाँ शक्ति मिलेर एकीकृत रूपमा चुनाव लड्न आह्वान गरेका छन् ।

भेटका क्रममा बालेनले भने, ‘म अब सक्रिय राजनीतिमा आएँ, हामी सबै मिलेर चुनावमा जाऊँ ।’ उनले छलफलमा सहभागी जेनजी प्रतिनिधि र नेताहरुलाई आफ्नो अभियानमा साथ दिन आग्रह गरेका छन् । बालेनले ‘देश विकास पार्टी’ मार्फत आगामी निर्वाचनमा देशभर उम्मेदवार दिने योजना बनाएका छन् । उनी आफैं एउटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

बाँकी १६४ सिटमा पनि उनले सक्षम उम्मेदवार खोजिरहेका छन् । बालेनले भनेका छन्, ‘म एक्लैले केही परिवर्तन गर्न सक्दिन, मलाई देशभर उम्मेदवार बन्ने मान्छे चाहिएको छ ।’ उनले समानुपातिक सिटका लागि पनि थप मान्छे चाहिने बताएका छन् ।

यो अभियानमा पूर्वविवेकशील साझाका नेता मिलन पाण्डेले सहजकर्ताको भूमिका खेलिरहेका छन् । पाण्डेले बालेन नयाँ र पुराना शक्तिसँग गम्भीर संवादमा रहेको पुष्टि गरे । उनका अनुसार यो राजनीतिक कदमले देशलाई फाइदा पुग्नेछ । निर्वाचन आयोगमा पुस १३ र १४ गते समानुपातिकको बन्दसूची बुझाउनुपर्ने प्रावधान छ । त्यसैले बालेनले भेटघाटलाई तीव्र पारेका हुन् । शनिबारसम्म ११० क्षेत्रका उम्मेदवार तय गरेर आयोगमा सूची बुझाउने उनको तयारी छ ।

बालेनले पछिल्लो समय धेरै चर्चित व्यक्तित्वसँग संवाद गरेका छन् । उनले कांग्रेस नेता चन्द्र भण्डारी र सुनिल शर्मासँग कुरा गरे । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र राप्रपा नेता ज्ञानेन्द्र शाहीसँग पनि उनको भेट भएको छ । जनमत पार्टीका सिके राउत र चिकित्सक प्राडा भगवान कोइरालासँग पनि उनले छलफल गरे । जेनजी अभियानका रक्षा बम, सागर ढकाल, केपी खनाल र अभिनेता निश्चल बस्नेत पनि उनको छलफलमा सहभागी छन् ।

ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि बालेनको सहकार्य निश्चित जस्तै देखिएको छ । बालेनले घिसिङ र आफू एकै भएको बताएका छन् । घिसिङ निकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । अब उज्यालो नेपाल र देश विकास पार्टीबीच एकता हुने वा चुनावी समीकरण हुने भन्ने टुंगो लाग्न बाँकी छ । कुलमान घिसिङ आफैं देश विकास पार्टीमा सामेल हुने सम्भावना पनि रहेको स्रोतले बताएको छ ।

देश विकास पार्टीको अध्यक्ष सन्ध्या खनाल हुन् । यसको चुनाव चिह्न लौरो छ । बालेनले २०७९ को स्थानीय तह निर्वाचनमा यही चिह्न प्रयोग गरेर जितेका थिए । बालेनले सोमबार राति रास्वपा सभापति रवि लामिछानेसँग पनि भेटेका थिए । भेटमा लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । यसबारे अहिले निर्णायक वार्ता भइरहेको बुझिएको छ ।

बिहीबार बिहान बालेन र कुलमानबीच पनि भेटघाट भएको छ । बालेनले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङलाई पनि साथै लिएर जाने बताएका छन् ।