नेपाल राष्ट्रिय घर भाडा सरोकार समिति कास्कीको छैटौं अधिवेशन तथा १९ औं वार्षिक साधारण सभाले कृष्णप्रसाद चापागाईको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको छ ।
१३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण सुवेदी, उपाध्यक्ष शोभाकान्त शर्मा, महासचिव जगतमोहन गिरी, सचिव वेदुनाथ लामिछाने, कोषाध्यक्ष योगमाया बराल र सहकोषाध्यक्ष अमृत घिमिरे छन् ।
कार्यसमिति सदस्यमा दिनेश पौडेल, लक्ष्मी गौतम, चिरञ्जीवी लामिछाने, रामप्रसाद काफ्ले र कृष्ण वाग्ले छन् । कार्यक्रममा घरवहाल सरोकार महासंघ नेपालका कार्यवाहक अध्यक्ष बलभद्र खनालले घर वहालको सबै काम स्थानीय तहले गर्नुपर्ने बताए । उनले घरवहालसम्बन्धी व्यवस्थालाई समय सापेक्ष र वैज्ञानिक बनाउनुपर्ने विचार राखे ।
‘घर वहाल कर व्यवसायीले तिर्ने होइन, घरधनीले तिर्नुपर्छ,’ उनले भने, ‘घरधनी तथा व्यवसायी दुबैले अवैधानिक बाटो प्रयोग गरेका छौं ।’ उनले घर वहाल करलाई २ प्रतिशतमा झारे शत प्रतिशत घरधनी करको दायरामा आउने दाबी गरे ।
घरवहाल सरोकार महासंघ नेपालका पूर्वउपाध्यक्ष यमनाथ पौडेलले पोखरा महानगरमा ३० प्रतिशत घरधनी मात्र घरवहाल कर तिर्न दर्ता भएको बताए । पोखरामा १२ प्रतिशत घर वहाल तिर्नुपर्ने अवस्थालाई २ प्रतिशतमा झार्नुपर्ने उनले उल्लेख गरे ।
पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष उमराज बास्तोलाले उद्योग व्यवसाय संकटमा पर्दा घरभाडा घटाउनुपर्ने तर्क गरे । पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले घरवहालमा लगाउने व्यक्तिले औपचारिक रुपमा कर प्रणालीलाई स्वीकार गर्नुपर्ने बताइन् ।
साधारणसभाले समितिको विधान संशोधन प्रस्ताव तथा अक्षयकोष नियमावली कार्यविधि– २०८२ लाई सर्वसम्मत रुपमा पारित गरेको छ । कार्यक्रममा असल घरधनी निरञ्जनकुमार बाटाजु र असल व्यवसायी विष्णुदेवी विक खड्कालाई सम्मान गरिएको छ ।
कार्यक्रममा समितिका अध्यक्ष कमलप्रसाद न्यौपाने, समितिका वरिष्ठ उपाध्यक्ष उमपती ढकाल र महासचिव कृष्णप्रसाद चापागाईं, सल्लाहकार विष्णुप्रसाद बास्तोला, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष मोतीप्रसाद श्रेष्ठ, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष थमनारायण अर्याल लगायतले धारणा राखेका थिए ।




