आज मिल्ने, भोलि फुट्ने एकता गर्दैनौंः कुलमान

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नयाँ राजनीतिक दलका बीचमा आगामी चुनावमा सहकार्य गर्न अझै बताएका छन् । उज्यालो नेपाल पार्टीको चितवन भेलालाई भरतपुरमा सम्बोधन गर्दै कुलमानले अबको चुनावमा जनताले सही पार्टी र नेता छान्ने अवसर आएको बताए ।

‘पुराना राजनीतिक दलमा पनि राम्रा र असल मान्छेलाई जनताले जिताउनुपर्छ,’ उनले भने, ‘नयाँ पार्टीहरूका बीचमा एकता गर्दा कुनै पनि स्वार्थ राख्न हुँदैन । आज मिल्ने तर भोलि नै फुट्ने एकता गरिँदैन, गर्नु हुँदैन ।”

अहिलेसम्म आफूले कमाएको प्रतिष्ठा दाउमा राखरै भए पनि पार्टी खोलेर अगाडि बढेको उनले सुनाए । आफूलाई राजनीति नगर्नसमोत सुझाव आएको सुनाउँदै उनले राजनीतिक पार्टीबाट नै देशलाई अगाडि बढाउने सोचले होमिएको उल्लेख गरे ।

‘अब मैंले के गर्ने कि त धार्मिक संस्थामा जोडिएर काम गर्न प¥यो कि त अरु सामाजिक संघसंस्थामा बसेर काम गर्नुप¥यो’, कुलमानले भने, ‘ती संस्थामा बसेर देशमा ठोस परिवर्तन गर्न सकिँदैन भनेर राजनीतिमा लागेँ ।’ उनले देशमा ठूला भनिएका राजनीतिक पार्टीले परिवर्तनमा भूमिका खेले पनि सुशासन र भष्ट्राचार नियन्त्रणमा भूमिका खेल्न नसक्दा जनतामा आक्रोश आएको तर्क गरे ।