शान्ति परियोजनाको सामाजिक परीक्षण

मानवअधिकारका लागि महिला एकल महिला समूह कास्कीले सञ्चालन गरेको शान्ति परियोजना सान्दर्भिक र औचित्यपूर्ण भएको सरोकारवालाले बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकामा शुक्रबार भएको शान्ति परियोजनाको सामाजिक परीक्षणमा सहभागीहरुले यस्तो बताएका हुन् ।

कुर्भे उस्ट्रोको सहयोगमा सञ्चालित शान्ति परियोजनाको यो आर्थिक वर्षको बजेट १० लाख ९३ हजार छ । कार्यक्रममा सामाजिक परीक्षक एकनारायण सापकोटाले सन् २०२५ मा शान्ति परियोजनामा भएका कामहरुको विवरण, औचित्य, लाभग्राहीको संख्यासहित त्यसको मूल्यांकन प्रस्तुत गरे ।

उनले परियोजनामा तोकिएका कार्यक्रमहरु तोकिएकै समयमा सकिएको र लाभग्राहीहरुले यथोचित लाभ पाएको सुनाए । ‘परियोजनालाई निरन्तर दिँदै लक्षित वर्गहरुको आवश्यकता अनुसारका नयाँ कार्यक्रम ल्याउनु उचित हुन्छ,’ सापकोटाले भने ।

कार्यक्रममा अन्नपूर्ण वडा नम्बर १ २ ३ ४ ६ का स्वावलम्बी समूहका अध्यक्ष तथा प्रतिनिधिहरुले सुझाव प्रस्तुत गरेका छन् । उनीहरुले परियोजनाबाट आफूहरुले सचेतना, व्यक्तित्व विकाससँगै जीविकोपार्जनमा अनेक पक्षमा सहयोग पुगेको उल्लेख गरेका थिए ।

अन्नपूर्ण गाउँपालिका २ का वडाध्यक्ष पिताम्बर भण्डारीले विभिन्न कारणले पछि परेका वर्गलाई उत्थान गर्दै मूल प्रवाहमा ल्याउने स्थानीय सरकारको दायित्वमा संघ, संस्थाहरुले सघाइरहेको जनाए । गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख लक्ष्मण बस्तोकोटीले सामाजिक क्षेत्रमा एकल महिला समूहले अन्नपूर्णका महिलाको सशक्तीकरणमा सघाइरहेको सुनाए ।

एकल महिला समूह गण्डकी प्रदेश अध्यक्ष प्रमिला तझ्याले विभिन्न कारणले एकल भएका महिलाको सशक्तीकरण र विकासलाई सबै तहका सरकारले सघाउनुपर्नेमा जोड दिइन् । कार्यक्रम एकल महिला समूह कास्की अध्यक्ष जूना केसीको अध्यक्षतामा भएको थियो ।