गाउँ, टोलका स्थानीय संघ, संस्थादेखि राज्यको नीति निर्माण तहसम्म महिलाको अर्थपूर्ण र सम्मानजनक सहभागिता विना समतामूलक समाज र देशको समृद्धि सम्भव नहुनेमा जोड दिइएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीले बिहीबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकाले नागरिकको सर्वाङ्गीण विकासका लागि योजनावद्ध काम गरिरहेको जनाए । उपाध्यक्ष चन्द्रकला अधिकारीले महिलाको हरेक तहमा अर्थपूर्ण सहभागिता बढाउँदै लैंगिक हिंसा अन्त्य गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिहेको उल्लेख गरिन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले नेपाली समाजमा विभेदको संस्कार परिवारबाटै सुरु हुने जनाउँदै त्यसलाई हटाउन पनि परिवार हुँदै नीति निर्मातासम्मको प्रयास आवश्यक पर्ने विचार राखे ।
कार्यक्रममा ‘महिलाको हरेक तहमा सम्मानजक र अर्थपूर्ण सहभागिता, लैंगिक संवेदनशीलता र सरोकारवालाहरुको भूमिका’ विषयमा एकल महिला समूह कास्की अध्यक्ष जूना केसीले कार्यपत्र पेश गरिन् । राज्यका निकायहरुमा महिलाको अवस्था प्रस्तुत गर्दै उनले आरक्षणका कारण केही सुधार देखिए पनि धेरै काम गर्न बाँकी रहेको सुनाइन् ।
कुर्वे बिस्ट्रोको आर्थिक सहयोग र अन्नपूर्ण गाउँपालिकासँगको सहकार्यमा कार्यक्रम भएको हो । एकल महिला समूह गण्डकी अध्यक्ष प्रमिला तझ्याले महिला सशक्तीकरणसँगसँगै सांस्कृतिक संरक्षण, रुपान्तरण र व्यवहारिक कार्यान्वयनलाई पनि लैजानुपर्नेमा जोड दिइन् ।
एकल महिला समूह कास्की अध्यक्ष जूना केसीको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, वडा नम्बर ३ का अध्यक्ष फणीन्द्र पौडेल, एकल महिला समूहकी सहसचिव हरिमाया बराल लगायतले बोलेका थिए ।




