मौरिस हर्जाेगको विख्यात कृति ‘अन्नपूर्ण’ अब नेपालीमा

फ्रान्सेली आरोही नेता मौरिस हर्जाेग नेतृत्वको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम आरोहण गरी इतिहास रच्यो । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलो आरोहण नै यो थियो । आरोहणका अनुभूति र संघर्ष समेटेर हर्जाेगले फ्रेन्च भाषामा कृति तयार पारेः अन्नपूर्ण प्रिमियर ८००० । सन् १०५१ मा प्रकाशन भएको त्यो पुस्तक अन्नपूर्ण हिमालको आफ्नै काखमा रहेको क्षेत्रको भाषा नेपालमा आउन भने ७४ वर्ष लाग्यो ।

गएको बिहीबार ‘अन्नपूर्ण प्रिमियर ८०००’को नेपाली अनुवाद बजारमा आएको छ । नेपालमा रहेका फ्रान्सेली दूतावास र एलायन्स फ्रान्सेली देले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । फ्रान्सेली दूतावासको आर्थिक सहयोगमा फाइन प्रिन्टले पुस्तक प्रकाशन गरेको हो । कृतिको मूल्य ७ सय रुपैयाँ छ । एलायन्स फ्रान्सेलीका फ्रान्सेली भाषा शिक्षकहरू अशोक शाक्य र रिजेन्द्र श्रेष्ठले कृति अनुवाद गरेका हुन् ।

अन्नपूर्ण फेदीको पर्यटकीय सहर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कृति सार्वजनिक गरेका हुन् । अन्नपूर्णको पहिलो आरोहणको ७५ औँ वर्षगाँठ मनाइरहेका बेला नेपालीमा प्रकाशित विख्यात पुस्तकले अन्नपूर्ण क्षेत्र र नेपाललाई नै प्रवर्धन गर्न सघाउने आयार्यले अपेक्षा गरे ।

‘संसारका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमै ८ वटा अवस्थित छन्,’ उनले भने, ‘तीमध्ये पनि ३ वटा हिमाल पोखराबाट सामान्य टिसर्ट लगाएरै अवलोकन गर्न सकिन्छ । यो तथ्यले नै नेपाललाई हिमालको देशमात्र होइन, विश्वकै अनुपम प्राकृतिक सम्पदाको केन्द्र बनाएको छ ।’

अन्नपूर्णको नेपाली संस्करणले अन्नपूर्ण आरोहणको वृत्तान्तलाई नेपाली पाठकसामु पु¥याएको छ । कार्यक्रममा फ्रेन्च राजदूत भर्जिनी कोर्तेवलले हर्जाेगको साहसिक र अनुपम कथा पर्वतारोहणको अद्वितीय क्षण भएको बताइन् । उनले भनिन्, ‘यो नेपाल र फ्रान्सलाई आजसम्म जोड्ने मित्रताको पछिल्लो संस्करण पनि हो ।’
पुस्तक सार्वजनिक समारोहमा पर्वतारोही पूर्णिमा श्रेष्ठ र पत्रकार कुन्द दीक्षितबीच पर्वतारोहण र अन्नपूर्ण हिमाल केन्द्रित संवादसमेत भएको थियो । पर्वतारोही श्रेष्ठले अन्नपूर्ण पुस्तक अध्ययनका क्रममा हिमाल नै चढिरहेको अनुभूति हुने सुनाइन् ।

सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गर्नुभन्दा ३ वर्षअघि नै हर्जाेगको टोलीले अग्ला हिमाल आरोहणको जग बसालेको थियो । मौरिसको अन्नपूर्ण पुस्तक हालसम्म ६० भाषामा प्रकाशित भई १ करोडभन्दा बढी प्रतिहरू बिक्री भइसकेको छ ।
समारोहमा सन् १९७७ मा अन्नपूर्ण आरोहण गर्ने पहिलो नेपाली सोनाम वालिङ शेर्पालाई मरणोपरान्त सम्मान गरिएको थियो । सोनामकी पत्नी छिरिङ डोमाले सम्मान ग्रहण गरिन् । पोखराका मेयर आचार्य र नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले उनलाई सम्मान गरेका हुन् ।