गण्डकी बहुप्राधिक शिक्षालयमा २०८२÷८३ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा २०७९÷८० मा भर्ना भएका विद्यार्थीलाई बिदाइ गरिएको छ । यो शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र पोखरा महानगरपालिको साझेदारीमा सञ्चालित छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले समुदाय स्तरमा ज्ञान तथा सीप विकास, रोजगारी सृजना, आर्थिक सशक्तीकरण, उद्यमशीलता, नवप्रवर्तनसहित प्रतिस्पर्धात्मकता जनशक्ति उत्पादनमा महानगरले योगदान गरिरहेको जनाए ।
सिटिईभिटीका उपनिर्देशक डा मिना भट्टले प्राविधिक शिक्षाले नयाँ पुस्तालाई परिवर्तनसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै राष्ट्रलाई आधुनिक अर्थतन्त्रतर्फ धकेल्न महत्वपूर्ण भूमिका खेल्ने विचार राखिन् ।
शिक्षालय सञ्चालक समिति सदस्य प्राडा सरस्वती न्यौपाने शर्माले दक्ष जनशक्ति उत्पादनमार्फत आत्मनिर्भरता, रोजगारी, उद्यमशीलता र दिगो विकास सम्भव हुने सुनाइन् , आगामी वर्षदेखि डिप्लोमा इन नर्सिङ विषयको कक्षा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदलसमेत गठन गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसी सम्मान गरियो । यसैगरी, शिक्षालयका पूर्वनिर्देशक लक्ष्मण तिमिल्सिनालाई शिक्षालय वर्ष सम्मान २०८२ बाट सम्मानित गरियो । सिभिल इन्जिनियरिङका कार्यक्रम संयोजक इन्जिनियर मनोज पौडेललाई पनि सम्मान सम्मानित बने ।
शिक्षालयमा डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन फार्मेसी, सामान्य चिकित्साका कक्षा सञ्चालनमा छन् । प्रि–डिप्लोमा औद्योगिक प्रशिक्षार्थी कार्यक्रम, बाल विकास सहजकर्ता, पूर्व सिकाइको मान्यताको सीप परीक्षण, टायल तथा मार्बल फिक्सरका सीप परीक्षण, बिल्डिङ कन्स्ट्रक्सन, बिल्डिङ पेन्टर सीप परीक्षण र विद्यालय तहमा आधारभूत प्राविधिक शिक्षा एव सीप हस्तान्तरणका लागि छोटो अवधिका पाठ्यक्रमसमेत लागू गरिएको छ । शिक्षालयमा हाल चार सयभन्दा बढी विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् ।
शिक्षालयका निर्देशक डा टेकनारायण पौडेलले हालसम्म डिप्लोमा इन अटोमोवाईल, सिभिल, जियोमेटिक्स, सिभिल इन्जिनियरिङका र वन विज्ञानमा २१४ जना विद्यार्थी पास आउट भइसकेको जानकारी दिए ।
कार्यक्रममा शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारी, विद्यार्थीहरू सविन विश्वकर्मा, प्रसिद्धि ओझा, वन्दना लम्साल र शाहिल थापामगरले पनि बोलेका थिए ।




