File pix
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ को मुल आयोजक र विभिन्न उपसमिति गठन गरी तयारी सुरू भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ ९ देखि १७ गतेसम्म हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिएका हुन् । संस्थाको शुक्रबार भएको बैठकले अध्यक्ष शर्माको अध्यक्षतामा १ सय ७ सदस्यीय मुल आयोजक समिति गठन गर्नुका साथै विभिन्न १४ उपसमिति गठन गरेको जनाएको छ ।
प्रतियोगितालाई व्यवस्थित बनाउन अतिथि सत्कारको उपसमितिमा संस्थाका उपाध्यक्ष देबेन्द्र केसी र महासचिव प्रकाश बराललाई जिम्मेवारी दिएको छ भने आर्थिक उपसमितिमा कोषाध्यक्ष हरिकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् । बैठकले मञ्च व्यवस्थापनको उपसमितिको संयोजकमा रामकृष्ण ज्ञवाली, सचिवालयमा डिबी नेपाली छन् ।
प्रचारप्रसारमा डिआर पोख्रेल, खेल मैदानमा खुम थापा, स्वयंसेवक एवं सुरक्षामा वीरेन्द्र खडका, यातायातमा गोविन्द थापामगर, प्राविधिकमा यामबहादुर गुरूङ, स्वास्थ्यमा शुक्रराज कँडेल, विदेश समन्वयमा धोजकुमार गुरूङ, सांस्कृतिकमा राजु थापा, टिम समन्वय तथा ट्रफी, मेडलमा राजकुमार गुरूङ र आवासमा शंकर गुरूङलाई संयोजक तोकिएको छ ।
प्रतियोगिताको संयोजकमा राजकुमार गुरूङ र सहसंयोजकमा डिआर पोख्रेललाई जिम्मेवारी दिइएको छ । यसपालि विजेता टोलीले ६ लाख ६६ हजार ६ सय ६६ नगद प्राप्त गर्ने छ भने उपविजेताले नगद ३ लाख ६६ हजार ६ सय ६६ तथा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ हात पार्ने छन् । पुरस्कार राशि महिला तथा पुरूष दुबैतर्फ समान छ ।
सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६ सय ६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद ११ हजार ६ सय ६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुप पहिलो पटक च्याम्पियन ठहरिएको थियो ।




