देउरालीमा सारङ्गी पार्क बनाउँदै पोखरा महानगर

sarangi

पोखरा महानगरको वडा नम्बर १८, देउरालीमा महानगरले सारङ्गी पार्क बनाउने भएको छ । लामागाउँ र वडा कार्यालयको बिचमा रहेको देउरालीमा पोखराको बिम्बका रुपमा पार्क बनाउन लागिएको हो ।

बुधबार बिहान आयोजित समारोहमा महानगरका प्रमुख आचार्यले पार्क शिलान्याश गरे । पार्कबाट फाइवरबाट निर्माण हुने दुई हजार केजीको २५ फिट अग्लो सारङ्गीको प्रतिमा बन्नेछ । काठ रङ्कै यो प्रतिमाले एकातिर पोखराको मौलिकता झल्काउने र अर्कातिर पर्यटकीय गन्तव्यसमेत बन्ने महानगर प्रमुख आचार्यले उल्लेख गरे ।

पोखरा महानगरको वडा नम्बर १६ को बाटुलेचौर र साविक लेखनाथका विभिन्न क्षेत्रमा गन्धर्व समुदायको बसोबास छ । पोखराका गन्धर्वहरु पछिल्लो क्रममा विदेश र अन्य पेशा, व्यवसायमा लाग्दा सारङ्गी संस्कृति लोप हुँदै गएको छ ।

थप ९ जनालाई ‘पोखरेली नवरत्न’
देशकै ठूलो महानगर पोखरा महानगरपालिकाले बुधबार ६७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवस विशेष समारोहमा महानगरले समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने नौ जनालाई पोखरेली नवरत्नका रुपमा सम्मान गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगरका प्रमुख धनराज आचार्यले बुधबार आयोजित समारोहमा उनीहरुलाई जनही दुई लाख दुई हजार दुई सय दुई रुपैयाँ, ताम्रपत्र र पदकसहित सम्मान गरेका हुन् ।

महानगरले पुम्दीकोटमा विशाल शिवमूर्ति बनाउने अभियानको नेतृत्व गर्ने चन्द्रकान्त बराल, चर्चित ब्यान्ड नेपथ्यका अमृत गुरुङ र उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई नवरत्न सम्मान प्रदान गरेको छ । यसैगरी, पोखरेली नव रत्नबाट सम्मानित हुनुहुनेहरुमा साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तिलकमान गुभाजु, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा बुद्धिबहादुर थापा, शिक्षासेवी प्राडा वीरेन्द्रसिंह गुरुङ, महिला उद्यमी रामकली खड्का तथा उद्योगी हरिप्रसाद पाण्डे सम्मानित बने ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले महानगरले कार्यविधि र मापदण्ड बनाएर समाजका विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरेको बताए । “व्यक्तिगत रुपमा भन्दा पोखरा रत्न भो, नौ जनालाई दिएको हुनाले नवरत्न भनियो,” उनी भन्छन्, “जीवनभर राम्रो काम गर्नु कठिन कार्य हो । यो राज्यले दिएको कदर हो, एकथान सम्मानपत्र मात्र यो होइन ।”

अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’को संयोजकत्वमा विश्व सिग्देल, प्रा नीता ताम्राकार, दीपेन्द्र श्रेष्ठ र महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल रहेको प्रतिभा छनोट समितिको सिफारिस बमोजिम महानगरले नौ जनालाई नवरत्न सम्मान प्रदान गरेको हो ।

महानगरले यसअघि २०५५ सालमा पत्रकार केशवराज पराजुली, गायक झलकमान गन्धर्व, संस्कृतिकर्मी मीनबहादुर गुरुङ, पर्यटनकर्मी झलक थापा, उद्योगपति बुद्धिबहादुर श्रेष्ठ, समाजसेवी अमृतप्रसाद शेरचन, चिकित्सक कुमारशमशेर राणा, कृषि वैज्ञानिक डा भवुनरत्न स्थापित र साहित्यकार अली मियाँलाई नवरत्न सम्मान प्रदान गरेको थियो ।

महानगरले २०५९ सालमा पर्यटनकर्मी हरिध्वज तुलाचन, उद्योगपति हेमबहादुर प्रधान, खेलाडीद्वय रञ्जित गुरुङ र सपना मल्ल, कलाकार दुर्गा बराल ‘वात्स्यायन’, शिक्षाविद् जर्ज जोन, कलाकार कृष्णप्रसाद श्रेष्ठ, साहित्यकार धर्मराज थापा र संस्कृतिकर्मी प्रज्ञारत्न बज्राचार्यलाई पोखरेली नवरत्नका रुपमा सम्मान गरेको थियो ।

यसैगरी, महानगरले २०७२ सालमा भाषाविद् मुकुन्दरशरण उपाध्याय, साहित्यकार सरुभक्त र लोकगायिक हरिदेवी कोइरालालाई पोखरा रत्न प्रदान गरेको थियो ।