गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा विशेष योजना ल्याएको छ । युआरएलको स्थापना २०७० साल मंसिर २३ गते भएको हो।
सो अवसरमा मंसिर १५ गतेदेखि सञ्चालन भएको निःशूल्क थाईराईड , (सुगर) FBS, PPBS, RBS र दन्त परिक्षण सेवा २८ गतेसम्म चल्ने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए ।
उनले वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो योजना ल्याइएको जानकारी दिए। अध्यक्ष पन्तका अनुसार विश्वस्तरीय प्रविधि, अत्याधुनिक मेसिन र दक्ष तथा अनुभवी जनशक्तिबाट युआरएलले निरन्तर रूपमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। ग्राहक तथा सेवाग्राहीप्रति कृतज्ञता व्यक्त गर्न उपहारस्वरूप यो निःशुल्क स्वास्थ्य परीक्षण योजना ल्याइएको उनले बताए।
युआरएलले हालसम्म ११ लाखभन्दा बढीले सेवा प्राप्त गरेको, २१२ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको तथा २ लाख १५ हजार जनालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको पन्तले जानकारी दिए।
यसले पोखरामात्र नभई प्रदेशमै स्वास्थ्य सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ। सो अवसरमा दुई सय पाँच जनाले ल्याब र ५२ जना दन्त परीक्षण सेवा लिएको युआरएलका मार्केटिङ डाइरेक्टर मणि न्यौपानेले बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट फिजीसियन डा कृष्णराज अधिकारीले कसरत नगर्ने तथा अस्वस्थ खानपानले (मधुमेह) सुगर हुने जोखिम बढाउने बताए । थाइराइडका कारण महिनावारी गढबढ हुने, मोटोपना बढ्ने जस्ता समस्या देखिने उनको भनाइ छ।
डा. अधिकारीले वंशानुगत कारणले मधुमेह हुन सक्ने उल्लेख गर्दै नियमित व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाएमा यस्ता रोगबाट बच्न सकिने स्पष्ट पारे। ‘सुगरले आँखा दाँतमा यौन दुर्वलता हुने समेत अध्ययनले देखाएको छ। कम्तीमा वर्षमा १ पटक पूर्ण शरीर जाँच गर्नुपर्छ यसले रोग प्रारम्भिक चरणमै पत्ता लगाउन र समयमै उपचार गर्न सहयोग पुग्नेछ,’ उनले भने।




