गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले पनि सुविधा सम्पन्न जलन युनिट सञ्चालनमा छ । तीन दशकअघि नै स्थापना भएको जलन युनिटमा बिहीबार पनि तीन बिरामी उपचाररत छन् ।
सात शैयामा रहेको यो युनिटलाई केही जनशक्ति थप र क्षमता विस्तार गर्ने हो भने तत्काल जलनको उपचारमा समस्या नहुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशील अर्याल बताउँछन् ।
जलन युनिटका प्लास्टिक सर्जन डा पियूष गिरी वर्षमा एक सय ५० जति जलनका बिरामीको यहाँ उपचार भइरहेको सुनाउँछन् । सामान्य जलनलाई अन्तरङ्ग विभागमा उपचारपछि पठाइने गरेको छ भने गम्भीर जलन भएकाहरुलाई भर्ना गरी उपचार गर्ने गरिएको छ ।
जलन युनिटमा दुई क्याबिन र पाँच सामान्य बेड छन् । “बयस्कमा २० प्रतिशत र बालबालिकामा १० प्रतिशत छाला जलेकोलाई मेयर बर्न भनिन्छ,” डा गिरी भन्छन्, “हामीकहाँ जलन उपचारका लागि अत्याधुनिक उपकरण र आवश्यक सबै खालका जनशक्ति छन् । आक्कलझुक्कलबाहेक बेड नपाउने अवस्था पनि छैन ।” युनिटको क्षमता विस्तार र विज्ञ जनशक्ति स्थायी आपूर्ति भए सेवा अझ सहज हुने देखिन्छ ।




