पोखरामा जेनजी आन्दोलन : मुख्यमन्त्री कार्यालय तोडफोड, २९ पक्राउ

गण्डकी प्रदेशको राजधानी पोखरा आज दिनभर जेनजी आन्दोलनका कारण अशान्त रह्यो । आन्दोलन चर्किँदै जाँदा मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ भने आगजनीको प्रयाससमेत गरिएको प्रहरीले जनाएको छ । घटनामा एक जना प्रहरी र तीन जना आन्दोलनकारी घाइते भएका छन् ।

प्रदर्शनका क्रममा ढुंगामुढा हुँदा कार्यालयका सिसा फुटेका छन् । प्रत्यक्षदर्शीका अनुसार एक किशोरलाई गोली लागेको छ, जसको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ । उनको परिचय भने सार्वजनिक भएको छैन । सो अस्पतालका सूचना अधिकारी सुशील अर्यालका अनुसार आन्दोलनकारी दिवश घर्तीमगर र रमेश थापा तथा प्रहरी जवान विकास तिमिल्सिनाको उपचार भइरहेको छ । घर्तीमगर र थापाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

घटनापछि प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालयमा राखेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले घाइतेको उपचार भइरहेकाले स्थिति विस्तारै सामान्य हुँदै गएको बताए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । तर प्रदर्शन नियन्त्रणभन्दा बाहिरिएपछि सामान्य बल प्रयोग गर्नुपरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

स्थिति तनावग्रस्त बनेपछि कास्की प्रशासनले सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सहिदचोक वरिपरिको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई जुलुस, धर्ना वा सभा गर्न प्रतिबन्ध लगाइएको छ ।

आन्दोलनका कारण पोखराको मुख्य बजार दिनभर अस्तव्यस्त बनेको थियो । आन्दोलनकारीले सडकमा टायर बालेर सरकार र राजनीतिक दलका नेताविरुद्ध नाराबाजी गरेका थिए ।